
बारा । प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले बाराको ४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले बारा निर्वाचन क्षेत्र नं. १ बाट अच्युत मैनाली, बारा–२ मा बलबीर चौधरी, बारा–३ मा ज्वालाकुमारी साह र बारा–४ मा कृष्णकुमार श्रेष्ठ (किसान) लाई उम्मेदवार बनाएको हो ।
मैनाली, साह र श्रेष्ठ निवर्तमान संघीय सांसद हुन् भने चौधरी २०७० सालको संविधान सभा सदस्य हुन् । उम्मेदवारी पाउने चारै जना एमालेभित्र अध्यक्ष केपी शर्मा ओली पक्षका भनेर चिनिन्छन् ।
तल्ला कमिटीले बारा–१ बाट ईश्वर पोखरेल समूहका भनेर चिनिने पुरुषोत्तम पौडेलको नामसमेत सिफारिस गरेको थियो । यद्यपि उनले टिकट पाउन सकेनन् ।
मैनाली बारा–१ बाट तेस्रो पटक, साह प्रदेश सभा बाहेक संघमा दोस्रो र श्रेष्ठले पनि बारा–४ मा दोस्रो पटक उम्मेदवार हुने मौका पाएका हुन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा किसान श्रेष्ठ तत्कालीन माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीका साझा उम्मेदवार थिए । श्रेष्ठ केही समय अघि नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएका थिए ।
२०७९ को निर्वाचनमा बारा–१ मा मैनालीले कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीलाई करिव ९ हजार मतले पराजित गरेका थिए भने बारा–३ मा ज्वालाकुमारी साहले जसपा उम्मेदवार रामबाबु यादवलाई ३ हजार मतान्तरले पराजित गरेकी थिइन् । बारा–४ मा किसान श्रेष्ठले तत्कालीन एमाले उम्मेदवार एकवाल मियाँलाई १० हजारभन्दा बढी मतले पराजित गरेका थिए ।
बारा–२ मा भने जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा गठबन्धनबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्