मध्यपश्चिम विश्वविद्यालय पाठ्यक्रम विकास निर्देशनालय संचालक समितिको वैठक सम्पन्न




सुदाम शर्मा, कर्णाली व्युरो

मध्यपश्चिम विश्वविद्यालय पाठ्यक्रम विकास निर्देशनालय सञ्चालक समितिको बैठक सम्पन्न भएको छ । विश्वविद्यालय पाठ्यक्रम विकास निर्देशनालय सञ्चालक समितिको बैठक आज वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।


उपकुलपति एवं सञ्चालक समिति अध्यक्ष प्रा. डा. ध्रुवकुमार गौतमको अध्यक्षतामा सम्पन्न बैठकले विश्वविद्यालयका हालसम्म निर्मित सबै सङ्कायका ७९ पाठ्यक्रमलाई Labor Market Driven Program (LMDP) मा आधारित बनाई परिमार्जन, पुनर्लेखन, प्रवोधीकरण, प्रमाणीकरण गरिएको र सोको एकरुपता कायम हुने गरी प्रकाशन तथा कार्यान्वयन गर्ने विषयमा गहन रुपमा समीक्षात्मक छलफल गरेको छ ।


बैठकले आगामी दिनमा पाठ्यक्रम लेखन तथा सुधारका बाँकी कामलाई तीव्रता दिई विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने निष्कर्ष सहित श्रम बजारको मागअनुसार पाठ्यक्रमलाई व्यवहारिक, सीपमुखी र रोजगारी उन्मुख बनाउने निर्णय समेत गरेको छ।
बैठकलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा. गौतमले पाठ्यक्रम विश्वविद्यालयको पूँजी भएकाले सबै विषय र प्रकृतिको पाठ्यक्रमहरु निर्माण गर्न सकिने भएतापनि यतिबेला हाम्रा सञ्चालित कार्यक्रमलाई केन्द्रविन्दूमा राखेर समयसीमाभित्र पाठ्यक्रम निर्माण गर्न सम्बद्ध सबैलाई निर्देशन दिए ।


उहाँले त्रिविमा झण्डै ७ सय ५० पाठ्यक्रम निर्माण भैसकेपनि कार्यान्वयनको अवस्था भने २ सय ५० देखि ३ सयको हाराहारीमा रहेको दृष्टान्त प्रस्तुत गर्दै पाठ्यक्रम निर्माण हुँदैमा सबै लागू हुन नसक्ने बताए ।
बैठकमा रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले पाठ्यक्रम निर्माणसँगै सोको प्रसारणका लागि सरोकारवाला सबै पक्षलाई सहभागी गराउन आवश्यक भएको बताए । उहाँले पाठ्यक्रमको डिजाइन, फर्मेट एकरुपता देखिने गरी प्रकाशन गर्न सुझाए । रजिष्ट्रार कँडेलले कोर्स बनाएपछि सोको विश्लेषण आवश्यक भएको बताउँदै केन्द्रीय कार्यालयसँग विभिन्न निकायको नियमित रिपोर्टिङ एवम् सञ्चार संस्कृतिको विकास अपरिहार्य भएकोमा जोड दिए ।
बैठकमा सञ्चालक समिति सदस्यको हैसियतमा डीनत्रय प्रा. डा. यमबहादुर कार्की, सहप्रा. डा. पूर्णमान श्रेष्ठ र सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, सहप्रा. वीरबहादुर पौडेल, उपप्रा. दिनेशकुमार पन्त, उपप्रा. दुर्गाप्रसाद सापकोटा, उपप्रा. खेमराज रावत, उपप्रा. कमलराज लम्साल, उपप्रा. सुरेन्द्रबहादुर शाही र उपप्रा. कपिल बुढाथोकीको सहभागिता रहेको थियो भने आमन्त्रित डीनत्रय प्रा. डा. विनोद बस्याल, प्रा. चन्देश्वर प्रसाद श्रीवास्तव र सहप्रा. डा. दिपकराज अधिकारी तथा कार्यकारी निर्देशकद्वय डा. विष्णुकुमार खड्का र डा. यदुप्रसाद ज्ञवालीको उपस्थिति रहेको थियो ।
समिति सदस्य सहित आमन्त्रित महानुभावहरुले बैठकमा महत्वपूर्ण राय, सुझाव पेश गरे
पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक एवम् संचालक समितिका सदस्य सचिव डा. लक्ष्मीप्रसाद आचार्यले आफ्नो आगमन पश्चात् पहिलो बैठकको संचालनसँगै पाठ्यक्रम निर्माणमा भएका कार्य प्रगतिवारे समष्टिगत विवरण प्रस्तुत गरे। बैठकमा उठेका विषयहरुको टिपोट निर्देशनालयका प्रशासन प्रमुख सूचना अधिकारी  शेरबहादुर केसी र लेखा प्रमुख रचना विष्टले गरेका थिए  ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार