सुदाम शर्मा, कर्णाली व्युरो ।
दोस्रो त्रैमासिक समीक्षा बैठक तयारीका लागि मध्यपश्चिम विश्वविद्यालयको भर्चुअल बैठक सम्पन्न भएको छ । नियमित कार्यतालिका अनुरुप विश्वविद्यालय अनुदान आयोगद्वारा तय गरिएको आ. व. २०८२/०८३ को दोस्रो त्रैमासिक समीक्षा बैठकको तयारीका सम्बन्धमा मिति २०८२ साल पौष २९ गते मध्यपश्चिम विश्वविद्यालयको भर्चुअल बैठक सम्पन्न भएको छ ।

विश्वविद्यालयका तर्फबाट शैक्षिक, भौतिक, वित्तीय लगायतका सूचकहरुमा केन्द्रित रही पेश गरिने तथ्याङ्कीय प्रगति विवरणका सन्दर्भमा विश्वविद्यालयका उपलब्ध पदाधिकारी सहित विभिन्न निकायमा कार्यरत प्रशासन तथा लेखा प्रमुखहरुको सहभागितामा बैठक सम्पन्न भएको हो ।

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयको समन्वयमा आयोजित उक्त बैठकमा आ- आफ्नो निकायको शैक्षिक, भौतिक तथा वित्तीय प्रगति विवरण दुई दिनभित्र तयारी गर्न सम्बद्ध सबैलाई सूचित गरिएको छ। बैठकलाई मार्गदर्शन गर्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले गुणस्तरीय कार्यसम्पादनसँगै रिपोर्टिङलाई प्रभावकारी बनाउने गरी समयमै प्रगति प्रतिवेदन तयारी तथा संस्थागत समन्वयलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए ।
बैठकको समग्र समन्वय, सञ्चालन तथा व्यवस्थापन गरेका योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले विश्वविद्यालय अनुदान आयोगमा पेस गर्नुपर्ने प्रगति विवरण, आगामी कार्ययोजना तथा अनुगमन प्रक्रियालाई व्यवस्थित र परिणाममुखी बनाउन गरिरहेका कार्यबारे संक्षेपमा बताउँदै प्रतिनिधिमूलक रुपमा धारणा लिइएको थियो ।

भर्चुअल बैठकमा डीन, कार्यकारी निर्देशक, केन्द्रीय विभाग तथा आंगिक क्याम्पसका प्रमुखहरु सहित सम्बद्ध निकायका उपलब्ध प्रशासन तथा लेखा प्रमुखहरुको उपस्थिति रहेको विश्वविद्यालयका सूचना अधिकारी शेर बहादुर केसिले कोहलपुर टुडेलाई जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्