सुदाम शर्मा, कर्णाली व्युरो ।
प्रगतिशील प्राध्यापक कर्मचारीद्वारा मैत्रीपूर्ण वनभोज कार्यक्रम
सुर्खेत, पुस २७ गते । नेपाल प्रगतिशील प्राध्यापक संगठन तथा कर्मचारी संगठन मध्यपश्चिम विश्वविद्यालय कमिटिको संयुक्त आयोजनामा आज वीरेन्द्रनगर, सुर्खेत स्थित बुलबुले पार्कमा मैत्रीपूर्ण वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

आपसी सद्भाव, सहकार्य र संगठनात्मक एकतालाई सुदृढ तुल्याउने उद्देश्यले सो वनभोज कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै नेकपा एमाले सुर्खेतका अध्यक्ष एवम् उक्त पार्टीका तर्फबाट आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत- २ का प्रस्तावित उम्मेदवार कुलमणि देवकोटाले राष्ट्र गम्भीर संकटको घडीमा रहेको वर्तमान सन्दर्भमा देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुको सचेत पहल आवश्यक भएको औंल्याए। उहाँले समाजको चेतनशील तप्का भएकाले पनि प्रगतिशील प्राध्यापक कर्मचारीहरुले आफूलाई राष्ट्रविरोधी क्रियाकलापका विरुद्ध बौद्धिक रुपमा खरो उतार्न जोड दिए ।

कार्यक्रममा एमाले सुर्खेतका उपाध्यक्ष मोहन बडुवाल, प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेना, नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेत, सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज डा. विष्णुकुमार खड्का, केन्द्रीय सदस्य एवम् विश्वविद्यालय इन्चार्ज रामप्रसाद कँडेल, केन्द्रीय सदस्य खेमराज रावत, डीन समेत रहनुभएका प्रगतिशील आन्दोलनका अगुवा सहप्रा. डा. आनन्दप्रसाद सुवेदी लगायत संगठन सम्बद्ध विभिन्न प्राध्यापक तथा कर्मचारी नेताकार्यकर्ता एवम् शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । वनभोजमा सुर्खेत स्थित विभिन्न निकाय सहित नारायण क्याम्पस, दैलेख, तिलाकर्णाली बहुमुखी क्याम्पस कालिकोट, मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम, भेरी बहुमुखी क्याम्पस गुमी,विद्यापुर जनता बहुमुखी क्याम्पस, भेरी बहुमुखी क्याम्पस गुमी सुर्खेत र बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट समेत प्रतिनिधिमूलक रुपमा उपस्थिति रहेको उक्त कार्यक्रमलाई आयोजक प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय कमिटिका अध्यक्ष वेदप्रकाश ढकाल, उपाध्यक्ष दिनेश कँडेल, सचिव शुक्रराज रेग्मी, कोषाध्यक्ष त्रिभुवन विसी र कर्मचारी संगठनका अध्यक्ष सूर्यप्रकाश कँडेल, उपाध्यक्ष कमलकुमार रावत, सचिव त्रिलोचन कँडेल, कोषाध्यक्ष दिपक आचार्य लगायतले औपचारिक कार्यक्रम संचालन तथा व्यवस्थापनमा भूमिका निर्वाह गरेका थिए ।

सो अवसरमा नवनियुक्त पदाधिकारी, उपप्राध्यापक सहित प्रगतिशील कर्मचारी संगठनको नवनिर्वाचित ५ सदस्यीय सल्लाहकार समिति र १३ सदस्यीय कार्यसमितिलाई संगठनका केन्द्रीय सचिव डा. खड्का सहितका नेताहरुद्वारा बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा कुर्सी रेसतर्फ सृजना मल्ल र घैंटाफोरमा सैलेन्द्र मल्ल तथा अप्रतियोगीका तर्फबाट दिपिका कुँवर पुरस्कृत भएका थिए ।
वनभोजमा सहभागी प्रगतिशील कर्मचारी संगठन मध्यपश्चिम विश्वविद्यालय कमिटिका नवनिर्वाचित सल्लाहकार शेरबहादुर केसीले यस किसिमका कार्यक्रम केवल भोजन र मनोरञ्जनमा मात्र सीमित नरही एकापसमा भेटघाटसँगै अनुभव साट्न, सहभोजन तथा नाचगान मार्फत सामूहिक भावना अभिब्यक्त गर्न सहयोगीसिद्ध हुने भएकाले निरन्तरता दिनुपर्ने प्रतिक्रिया कोहलपुर टुडेलाई बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्