मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने




सुदाम शर्मा, कर्णाली व्युरो
सुर्खेत, पुस ८ गते । मध्यपश्चिम विश्वविद्यालयद्वारा आगामी २०८३ बैशाख ११ देखि १३ गतेसम्म तदनुसार २४-२६, अप्रिल २०२६ का लागि तय गरिएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनका सन्दर्भमा वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय कार्यालयमा मंगलबार प्रारम्भिक छलफल सम्पन्न भएको छ ।


विश्वविद्यालयको शैक्षिक अनुसन्धान यात्रामा महत्वपूर्ण कडीका रुपमा हेरिएको उक्त सम्मेलन केन्द्रित छलफल उपकुलपति, रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक तथा केन्द्रीय विभागका विभागीय प्रमुखहरूका वीच सम्पन्न भएको हो ।
सो अवसरमा उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले विश्वविद्यालयको गरिमा बढाउने गरी सम्मेलनलाई प्रभावकारी एवम् परिणाममुखी बनाउन सबैले दायित्ववोध गर्नुपर्ने बताए । उपकुलपति गौतमले सम्मेलनको लागि आधिकारिक फेसबुक पेज तथा वेवसाइटमा सम्मेलनका लिंकहरु राखिएकाले उत्साहजनक सहभागिताका लागि आ- आफ्नो पहुँच भएका राष्ट्रिय अन्तरराष्ट्रिय नेटवर्क सहित सामाजिक सञ्जाल तथा व्यावसायिक प्लेटफर्म LinkedIn मा समेत व्यापक प्रचारप्रसार गर्न सबै सरोकारवालाई अपिल गरे ।

!
अन्तरराष्ट्रिय सम्मेलनको संयोजनकर्ता मध्यपश्चिम विश्वविद्यालय अन्तराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले पेपर प्रस्तोताका लागि अनुसन्धान सारांश पेश गर्न वेवसाइटको लिंक निर्माण गरी शेयर गरिसकेको बताउनुभयो । उनले सम्मेलनलाई प्रभावकारी बनाउन अन्तरराष्ट्रिय स्तरका विभिन्न कूटनीतिक निकाय तथा प्राज्ञिक व्यक्तित्वहरुसँग सहयोग एवम् सहकार्यका लागि आवश्यक समन्वय भैरहेको बताए ।
अनुसन्धान संस्कृति प्रवर्द्धन तथा अन्तरराष्ट्रिय सहकार्य अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर भएकाले पनि आउँदो सम्मेलन सभ्य एवम् भव्य रुपले सफल पार्न आ–आफ्नो तहबाट जुट्ने छलफलको निष्कर्ष छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार