कोहलपुर मेयर कपको दुवै (आवि र मावि)तहमा कृष्ण मावि च्याम्पियन




कोहलपुर । ९औँ कोहलपुर मेयर कप तथा १८औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगिता २०८२ को उपाधि कृष्ण माध्यमिक विद्यालयले उचालेको छ । मंसिर २५ गतेबाट सञ्चालन भएको प्रतियोगितामा कृष्ण मावि दुवै (आवि र मावि) तहमा च्याम्पियन बनेकाे  छ  ।

कोहलपुर नगरपालिका वडा नं. १ मा रहेको कृष्ण मावि आधारभूत तहमा ५ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गरी च्याम्पियन बनेकाे हाे भने माध्यमिक तहमा १५ स्वर्ण, ६ रजत र ६ कास्य पदक प्राप्त गरी च्याम्पियन बनेकाे हाे। सो कृष्ण माविले आवितर्फ नगद २५ हजार र मावि तर्फ ७५ हजार नगद सहित मेडल र प्रमाण पत्र सहित सम्मानित गरिएको थियो ।

यस्तै मावि तर्फ कोहलपुर नगरपालिका १२ मा रहेको ग्रिन पिस माविले १० स्वर्ण, ६ रजत र ३ कास्य पद प्राप्त गरी दोस्रो भएको थियो । दोस्रो भएको ग्रिन पिस माविलाई नगद ६५ हजार, मेडल र प्रमाण पत्र सहित सम्मानित भएको थियो ।

कोहलपुर १० मा रहेको त्रिभुवन माविले ८ स्वर्ण, ५ रजत र ७ कास्य पदक प्राप्त गरी तृतिय भएको थियो भने तेस्रो भएको त्रिभुवन माविलाई ५५ हजार रुपैया नगद, मेडल र प्रमाण पत्र सहित सम्मानित भएको थियो ।

यस्तै आवितर्फ कोहलपुर नगरपालिका ३ मा रहेको कोहलपुर बागेश्वरी माविले ३ स्वर्ण, ३ रजत प्राप्त गरी दोस्रो भएको थियो भने कोहलपुर ११ मा रहेको निम्बल एकेडेमीले ३ स्वर्ण, १ रजत र ३ कास्य पदक प्राप्त गरी तृतीय भएको थियो ।

कृष्ण माविकै सर्वोत्कृष्ट खेलाडी

कृष्ण माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत छात्रा शिला कुमारी चौधरी ९औँ मेयर कप प्रतियोगिता-२०८२ को सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । चौधरीले सर्वोत्कृष्ट खेलाडी भएवापत ५१ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र गरेकी थिइन् ।

गत वर्ष पनि कृष्ण माध्यमिक विद्यालयमै अध्ययनरत छात्रा सुवेरा मल्ल मेयर कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएकी थिइन् । मल्लले सर्वोत्कृष्ट खेलाडी भएवापत ५१ हजार रुपियाँ नगद पुरस्कार, प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।

समापन कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले खेलकुदका माध्यमले कोहलपुरसंगै लुम्बिनी प्रदेश हुँदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको भन्दै खेल जगतलाई लगानी गरिरहेको बताए । कोहलपुर २ मा गोल्डकप, क्रिकेट मैदान र मेयर कप लगायत अन्य खेलकुदहरुलाई सफल बनाउन लाखौ बजेट पालिकाले प्रदान गर्दै आएको छ जसले कोहलपुरलाई खेलकुदको हवका रुपमा विकास गर्न सहज हुने आचार्य बताए ।

यस्तै कोहलपुर नगर खेलकुदका अध्यक्ष चक्र चिमाला क्षेत्रीले प्रतियोगिता सफल बनाउन खटिनुभएका सचिवालय, विद्यालय, खेल प्रशिक्षक, स्वयम्सेवक, खेलकुद प्रेमी लगायत सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई हृदयदेखि धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रम कृष्ण माविका प्रअ दिलिप वलीले सञ्चालन गरेका थिए भने प्रतियोगितामा नगरभित्रका ५३ विद्यालयका हजारौँ विद्यार्थी खेलाडी सहभागी थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार