जि गाउँमा यस वर्ष पनि भव्य मेला लाग्दै




बैजनाथ गाउँपालिका–५, जि गाउँस्थित रामपुरमा यस वर्ष पनि भव्य मेला लाग्ने भएको छ। मङ्सिर १८ गते बेलुका ७ बजेदेखि १९ गते दिउँसो १ बजेसम्म सञ्चालन हुने मेलामा राष्ट्रिय कलाकार टीका पुन मगर, बद्री पंगेनी तथा चर्चित डान्सर आरुषी मगरको विशेष प्रस्तुति रहने आयोजक समितिले जनाएको छ। कार्यक्रमको प्रस्तोताको जिम्मा लोकप्रिय प्रे​रणा गिरिले सम्हाल्नेछिन्।

जि गाउँ, सम्झना र कलरामपुरबाट मेलामा सहभागी हुने जेष्ठ नागरिकका लागि निःशुल्क आवत–जावत ल्याउने–पुर्याउने सुविधा उपलब्ध गराइनेछ। यस सुविधाले जेष्ठ नागरिकलाई सहज रूपमा मेलामा सहभागी हुन मद्दत गर्ने आयोजकको विश्वास छ।

यस वर्ष मेला स्टल शुल्क १८०० रुपैयाँ तोकिएको छ, जुन अघिल्ला वर्षको तुलनामा निकै कम भएको आयोजक समितिले जनाएको छ। शुल्क कम हुँदा व्यापारी तथा स्थानीय उत्पादन प्रदर्शनकर्ताले अझ बढी लाभ लिने अपेक्षा गरिएको छ।

मेलामा थारु नाच, सिङ्गारु नाच, कुर्कुटे नाचलगायत स्थानीय सांस्कृतिक कार्यक्रमहरू विशेष आकर्षणका रूपमा प्रस्तुत गरिनेछन्। यी प्रस्तुतीहरूले स्थानीय संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने आयोजकले विश्वास व्यक्त गरेका छन्।

रामपुरमा लाग्ने यो मेला पछिल्ला वर्षहरूमा क्षेत्रकै पहिचानका रूपमा स्थापित हुँदै आएको छ। यस वर्ष पनि ठूलो संख्यामा दर्शक तथा भक्तजनहरुको उपस्थिति रहने अनुमान गरिएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार