
बाँके । नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङसम्बन्धी एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा बाँकेका पत्रकारका लागि अभिमूखिकरण कार्यक्रम आयोजना गरीएको हो ।
नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उदघाट्न नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना संयोजक श्रद्धा श्रेष्ठले गरेकी थिइन । कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय सम्भावना रहेकाले पत्रकारिताको माध्यमबाट उजागर गर्न जरुरी रहेको बताइन् ।
उनले नेपालगन्ज कर्णाली र सुदूरपश्चिमको गेटवे हुनुका साथै प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको उल्लेख गर्दै पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि मिडिया र सरोकारवालाबीच समन्वयात्मक भूमिका महत्वपूर्ण हुने उल्लेख गरेकी थिइन् । ‘नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाले पछिल्लो समय राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रको सिप विकास र क्षमता अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले यो अभिमुखिकरण कार्यक्रम राखिएको छ,’ उनले भनिन ।
कार्यक्रममा नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको बिषयमा बाँकेमा पछिल्ला दिनमा सरोकारवालासँग नियमित छलफल हुनुका साथै पर्यटकीय क्षेत्र पहिचान गरी भ्रमणमा जाने अभ्यास सुरु भएको बताए ।
उनले भने, ‘नेपालगन्ज हिजोका दिनमा ट्रान्जिट मात्र भएकाले अब गन्तव्यको रुपमा विकास गर्न मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । यसका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाले बाँकेका मिडियाकर्मीहरुलाई पर्यटन र फोटो पत्रकारितासम्बन्धी अभिमुखीकरण कार्यकम गरिएको छ ।’
यस अभिमुखिकरण कार्यक्रमले नेपालगन्जको पर्यटकीय सम्भावना उजागर र प्रवर्द्धन गर्न टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी र क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरी लगायतले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले पत्रकारहरुको लागि अनुशिक्षण, अभिमुखिकरण तथा फेलोसिप जस्ता कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन रिपोर्टिङ र फोटो पत्रकार सुनिल चुडामणी बज्राचार्यले पर्यटकीय उत्पादनको तस्बिर खिच्ने तरिका र प्रक्रियाबारे अभिमुखिकरण गराएका थिए । कार्यक्रममा बाँकेका विभिन्न मिडियामा कार्यरत ६० जना बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले यस्ता कार्यक्रमले पर्यटनको क्षेत्रमा भइरहेका प्रयासलाई थप उर्जा प्रदान गर्ने भन्दै आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्