रविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै




पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

पोखरामा सहकारी पीडित र रास्वपाका नेता-कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । रास्वपाका कार्यकर्ता र सहकारी बचतकर्ता आमने–सामने हुँदा सुरक्षा चुनौति नबढोस् भनेर विशेष ध्यान दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले दबावका लागि उपस्थित हुन आह्वान गरेका छन् । रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामै आएर शनिबारदेखि नै प्रदर्शन तथा दबाव कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।

रास्वपाका नेताहरुले रविलाई उपस्थित गराउने कास्की जिल्ला अदालत नजिकैको शहीद चोकमा विरोध कार्यक्रममा उपस्थित भइदिनका लागि आह्वान गरेका छन् भने सहकारी पीडितहरुले अनुसन्धान र न्यायका निम्ति कुनै कसर नराख्न दबाब दिँदै शहीद चोक नजिकै राष्ट्र बैंक चोकमा उपस्थित हुन सार्वजनिक अपिल गरेका छन् ।

शनिबारदेखि रास्वपाको विरोध प्रदर्शनमा माओवादी निकटका कार्यकर्ताहरुको सहानुभूति देखिएको थियो भने सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेकै नेताहरुलेसमेत आह्वान गरिरहेका छन् ।

शुक्रबार पक्राउ पुर्जीमात्रै जारी गरेर रातारात पोखरा ल्याइएको भए पनि भोलिपल्ट शनिबार परेकाले उनलाई आज (आइतबार)मात्रै अदालत खुलेपछि उपस्थित गराउन लागिएको हो । कास्की जिल्ला अदालतका ६ जना न्यायाधीश शुक्रबार बिदामा थिए । नेपालगञ्जमा रहेका न्यायाधीश कृष्णजंग शाह हतारहतार पोखरा आएलगत्तै पक्राउ पुर्जी जारी गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक ४ गते आइतबार