पत्रकार कल्याण कोषमा नारायणप्रसाद गौडेलले दिए २५ हजार

प्रजातान्त्रिक आस्थाका पत्रकारहरुको संगठन, नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको ‘एनपीयु पत्रकार कल्याण कोष’ मा नेपाली काँग्रेसका नेता नारायणप्रसाद गौडेलले २५ हजार प्रदान गरेका छन् ।

कोषका संयोजक कमल खत्रीलाई चेक हस्तान्तरण गर्दै नेता गौडेल, साथमा पार्टी उपसभापति पदका उम्मेदवार गोपाल प्रसाद अधिकारी र पार्टी पूर्व सभापति कृष्णमान श्रेष्ठ । युनियनका सचिव विजय मल्लका अनुसार, कोषका उपसमिति संयोजक कमल खत्रीलाई आसन्न काँग्रेस जिल्ला निर्वाचनमा सभापतिका उम्मेदवार गौडेलले शुक्रबार २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा पार्टी उपसभापति पदका उम्मेदवार गोपाल प्रसाद अधिकारी र पार्टी पूर्व सभापति कृष्णमान श्रेष्ठ पनि सहभागी थिए ।

अध्यक्ष अर्जुन ओलीका अनुसार कुनैपनि घटना र दुर्घटनामा घाइते भएर वा जटिल खालका रोगको औषधी उपचारमा पत्रकारलाई आर्थिक सहायता प्रदान गर्न तथा पत्रकारका अन्य कल्याणकारी कार्यका लागि युनियन बाँकेले कोष स्थापना गरेको थियो । ‘धेरैले सहयोगको प्रतिबद्धता र घोषणापनि गर्नुभएको छ, प्राप्त सहयोग नेता गौडेलको पहिलो हो ।’ कोषका लागि आवश्यक सहयोग गर्न शुभेच्छुक, संघ संस्था तथा निकायलाई आग्रह गरेको युनियनले कोषले बाँके जिल्लाका सबै पत्रकारलाई समेट्ने प्रतिबद्धता जनाएको छ ।