कृषि, शिक्षा र भौतिक संरचनाको विकास

कोहलपुर ।

जाजरकोटको नलगाड नगरपालिकाले वार्षिक समिक्षा कार्यक्रम गरेको छ । “समृद्व र सफा नगर दिगो विकास र सुशासनको लहर’’ भन्ने मुल नाराका साथ सो समिक्षा बैठक बुधबार सम्पन्न गरेको हो ।

नगरपालिका प्रमुख टेक बहादुर रावलले कृषि, शिक्षा र भौतिक संरचनाको विकास गरेको बताएका थिए । नगरपालिकामा रहेका ३६ वटा विद्यालयका भवनहरु निर्माण कार्य गरेको बताएका छन् ।

यस्तैे प्रमुख रावलका अनुसार कृषि अनुदानमा १३ वटा राँगा, ५२ वटा बोका, ८ हजार १ सय २० वटा कुखुरा, ३७० वटा बाख्रा, ३२ वटा बंगुरका पाठा, ३८ हजार घाँसको विरुवा वितरण गरिएको बताएका छन् ।

यस्तै प्रमुख रावलको प्रतिवेदन अनुसार ‘घर घरमा झन्डा, हात हातमा अन्डा’ भन्ने नाराका साथ सुनौलो हजार दिनका महिलालाई २ हजार २ सय ७५ वटा कुखुरा वितरण गरेको बताएका छन् ।

उनका अुनसार नगरभित्रका कुल १४ विद्यालयलाई नमुना घोषणा गरी ६ स्कुलमा १ विद्यार्थी १ ल्यापटप वितरण गरिएको बताए । ‘१३ विद्यालयहरुमा टकिंग टिचर प्रणाली लागू गरिएको छ’ उनले भने’ ‘प्रत्येक मावि विद्यालयहरुमा विद्युतिय हाजिरी र छात्राहरुको लागि निशुल्क प्याडको व्यवस्था गरिएको छ ।’ ३ माविमा विज्ञान प्रयोगशाला, ४ विद्यालयमा आईसिटि र ३ विद्यालयमा पुस्तकालय व्यवस्थापन गरिएको नगर प्रमुख रावलले बताए ।

यस्तै नगरपालिकाका विभिन्न वडाहरुमा फरक फरक पकेट क्षेत्र छुट्याएको प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताए । उनका अनुसार १,२ र ४ मह, २, ३, ४, ५ र ७ तरकारी खेती, ३ सुन्तला, ५ प्याज, ६ मकै र कागती, ७ आलुखेती, ८ धान खेती, ९, १० र ११ लसुन खेती, १२ र १३ पशुपालन, १३ फलफुल पकेट क्षेत्रको रुपमा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए । यस्तै सिंहका अनुसार अर्गानिक कृषि उत्पादन गर्ने उद्देश्यका साथ १५ रोपनीमा कालो धानको खेती विस्तार गरिएको बताए ।

जाजरकोट जिल्लाका पूर्वीय भागमा पर्ने ५ साविकका डाँडागाउँ, लह, खगेनकोट, रग्दा र भगवती गाविस मिलेर बनेको नलगाड नगरपालिकामा हाल १३ वटा वडाहरु रहेका छन् भने कुल ३८७.४४ बर्ग किलोमिटरमा क्षेत्रफलमा फैलिएको छ।

यसैगरी पुर्बमा पश्चिम रुकुम पश्चिममा कुशे गाउँपालिका उत्तरमा डोल्पा जिल्ला र बारेकोकोट गाउँपालिका र दक्षिणमा भेरी नगरपालिका पर्दछ। पौराणिक नलसिंहगाड नदि र तत्कालीन माओवादी जनयुद्धका सहिद मान बहादुर ओली र मान बहादुर रावलको नाम जोडिएर नलगाड नगरपालिका नामाकरण गरिएको हो ।