जनताको रहर, हरित शहर : ३ सय ‘कोनोकार्पस ल्यान्सिफोलियस’ प्रजातिको विरुवा रोपियाे

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा साँझा चोकदेखि हाइस्कुलसम्म ३ सय विरुवा बृक्षारोपण गरिएको छ । राष्ट्रपति चुुरे तराई मधेश संरक्षण समितिको जनताको रहरः हरित शहर अन्तर्गतको कार्यक्रममा लुम्बनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्दै ‘कोनोकार्पस ल्यान्सिफोलियस’ प्रजातिको विरुवा रोपेका थिए ।

कोहलपुर साँझा चोकदेखि हाइस्कुलसम्म मिडिएन रेलिङ्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष रामु लम्सालले चुरे संरक्षण कोषबाट ३३ लाख ४८ हजार र नगरपालिकाबाट ३ लाख २५ हजार सहित श्रमदान १० प्रतिशत गरी कुल रकम ४० लाख ७ हजार ८ सय रुपैयामा निर्माण भएको बताए ।

‘रेलिङ्ग निर्माण गरी ३ सय ‘कोनोकार्पस ल्यान्सिफोलियस’ प्रजातिको विरुवा रोपिएको छ,’ उनले भने, ‘त्यसको संरक्षण गर्ने सबै स्थानिय र पालिकाको छ ।’

कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले उत्सव तथा स्मृतिमा पनि बिरुवा रोप्ने अभियान चलाउन कोहलपुरबासीलाई आग्रह गरे ।

‘कोहलपुर नेपालगञ्ज सडकखण्डमा पर्ने कोहलपुर ८ पिपरीदेखि जानकी गाउँपालिकाको सिमाना पिप्रहवा सम्म लगाएको विरुवा अहिले गएर हेर्नुहोला सामाजिक सञ्जालमा लेखेर हुँदैन,’ उनले भने, ‘फिल्डमा आउनुहोस्, पहिले लगाएका विरुवालाई संरक्षण र संवर्धन भएको भए अहिले हामीले पूनः विरुवा लगाउनुपर्थेन ।’

अहिले लगाएको विरुवालाई गर्मीमा पनि बाल्टिन, जार तथा नगर प्रहरीले दैनिक पानी सिचाई गरिएको छ तर कोहलपुरबासीहरु पनि आफ्नो दायित्वबाट भाग्न नमिल्ने नगर प्रमुख आचार्यले बताए ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु चौधरी, उपप्रमुख संगिता सुवेदी, वडा अध्यक्ष १० गौरा भट्टराई, २ का अध्यक्ष हरि कठायत, ११ कल्पना अधिकारी (शर्मा), १२ का विरेन्द्र कुमार शाह, १३ का डम्बर बहादुर खड्का, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका केन्द्रीय विभागको वोर्ड सदस्य भेषराज आचार्य र चुरे तराई मधेश संरक्षण विकास ईकाईका कैलालीका प्रमुख हरिवंश आचार्य लगायत ज्ञान बहुमुखी क्याम्पसका विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।