पदका लागि राजनीति नगरौं: राठौर

काेहलपुर ।

नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पदका लागि राजनीति नगर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस बाँके क्षेत्र-१ प्रदेश `ख´ कार्यसमितिले आज कोहलपुरमा आयोजना गरेको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै राठौरले राजनीति समाज सेवाका लागि भएकाले पद गौण कुरा भएको बताए । `राजनीति गरेपछि पदै चाहिन्छ भन्ने होइन,’ उनले भने-`जसले समाज सेवाको भावले राजनीति गर्छ, त्यसले एक दिन पद अवश्य हासिल गर्छ ।´ पदकै निम्ति राजनीतिमा आउनेहरु सफल हुन नसक्ने पनि उनले बताए ।

अहिलेको पुस्तामा त्यागको संस्कार हराइसकेको उनको भनाई छ । `अहिलेको पुस्तामा त्याग भन्ने छँदैछैन,’ उनले भने-`पार्टीमा लागेपछि मेयर बन्नै पर्ने, सांसद हुनै पर्ने, मन्त्री बन्नै पर्ने सोच विकसित भएको छ । यो पार्टीका लागि ठिक होइन ।´ उनले नेपाली काँग्रेसलाई बलियो बनाउन सबै कार्यकर्ताहरुको त्याग जरुरी रहेको बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीलाई अनुशासित बनाउने गरी आफूले काम गरिरहेको बताए । `पार्टीभित्र अराजकता मौलाउँदै गएको छ,’ उनले भने-`त्यसलाई लगाम लगाउन जरुरी छ । पार्टीभित्र अनुशासन कायम गर्ने सवालमा अहिलेको कार्यसमिति दृढ भएर लाग्छ ।´ अब पार्टीभित्र अराजक गतिविधि गर्नेलाई छुट नहुने पनि उनले चेतावनी दिए ।

यस्तै काँग्रेस क्षेत्र नं.१ का क्षेत्रीय सभापति पोषण केसीले पार्टीलाई नयाँ सोच र विचारको संचार प्रवाह गर्दै गतिशील बनाउन आवश्यक रहेको बताए । विगतका कुरा विर्सेर अव पार्टीलाई एक ढिक्का बनाएर लैजाने जिम्मेवारी सबैको काँधमा आएको पनि उल्लेख गरे ।

‘हिजो कसले गर्यो, त्यो विर्सौं,’ उनले भने–‘अव भोलिको लागि सोचेर सबै एक भएर अगाडि बढौं ।’ काँग्रेसका युवा नेता तथा महासमिति सदस्य पूर्णप्रसाद आचार्यले पार्टीलाई गतिशील र सुदृढ बनाउन आवश्यक रहेको बताए । उनले नेता, कार्यकर्ता र जनता जोड्ने गरी काँग्रेसले अभियान थाल्नुपर्नेमा जोड दिए ।

‘काँग्रेसलाई बलियो बनाउन नेता, कार्यकर्ता र जनता जोड्ने कार्यक्रम गर्न जरुरी छ उनले भने–‘जबसम्म एउटा तन्नेरीलाई पार्टीप्रति भरोसा जाग्दैन, तवसम्म उसलाई पार्टीभित्र राख्न सकिँदैन ।’

प्रदेश ‘ख’ का सभापति बलराम शर्माको सभापतित्वमा भएको सम्मेलनमा काँग्रेसका लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, काँग्रेस नेता हुर्मत न्यौपाने, महासमिति सदस्य फुलाराम थारु, कोहलपुर नगर सभापति वीरेन्द्रकुमार शाह, काँग्रेस राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष भीम राना लगायतले आ-आफ्नो धारणा राखेको प्रदेश ‘ख’का पार्टी प्रवक्ता गोपाल शर्माले जानकारी दिए ।

प्रदेश ‘ख’ का उपसभापति डा.राजकुमार सुवेदीले स्वागत मन्तव्य ब्यक्त गरेको सम्मेलनको संचालन भने सचिव भीम पौडेलले गरेका थिए ।