कर्णालीका मुख्यमन्त्री शर्मा काे हुन् ?

सुदाम शर्मा, कर्णाली व्यूराे प्रमुख ।

रुकुमको तत्कालिन नुवाकोट गाविस वडा नम्बर ४ (हालको चौरजहारी नगरपालिका १४) मा २०२८ साल असोज १८ गते आमा यशोदा शर्मा र बुवा टिकाराम शर्माका कान्छा छोराका रुपमा जन्म भयो राजकुमार शर्माको । ६ भाइबहिनी मध्येका कान्छा राजकुमार सानैदेखि विद्रोही स्वभावका हुनुहुथ्यो । गाउँका हुने खाने र ठालुहरुले सामान्य जनतामा गर्ने अन्याय र अत्याचारले सानैदेखि उहाँलाई छुन्थ्यो । घरमा हुने राजनीतिक छलफलले समेत उहाँलाई सानैदेखि राजनीतिप्रति आकर्षित गरिरहेको थियो । २०४० सालमा छिमेकीले आफुहरुलाई दमन गर्दा आफुहरुले त्यसको प्रतिकार गरेको र सो पश्चात केही दिन फरार हुनेपरेको उहाँलाई अहिलेपनि सम्झना छ । बुझ्ने भएदेखि नै गाउँमा हुने हरेक प्रकारका दमन र विभेदका विरुद्ध आवाज उठाइहाल्ने राजकुमार आफुलाई सधैका विद्रोही भन्न रुचाउनुहुन्छ ।

२०४१ सालमा तत्कालिन मोटो मसालको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको भेला उहाँकै घरमा भयो । जाजरकोट, सल्यान र रुकुमका विद्यार्थीहरु उहाँको घरमा भेला भएका थिए । उक्त सम्मेलनका लागि पुग्नुभएको थियो विद्यार्थी संगठनका केन्द्रीय नेता यदु गौतम । उक्त भेलाले त पनि यो संगठनको सदस्य भइस है भनेको उहाँलाई सम्झना छ । त्यसपछि २०४३ सालमा जिल्ला सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता मावि र यमूना नन्द नमूना मावि सेरिगाउँलाई समेटेर बनाइएको विद्यार्थी संगठनको खलंगा इकाई कमिटीमा उहाँ जोडिनुभयो । त्यसपछि उहाँ विद्यार्थी संगठनमा सक्रियतापूर्वक लाग्नुभयो । २०४५ सालमा विद्यार्थी संगठनको जिल्ला सदस्य हुनुभयो ।

२०४६ सालमा उहाँले मोटो मसालको सदस्यता प्राप्त गर्नुभयो । २०४७ सालदेखि पार्टीमा पूर्णकालिन हुनुभयो । त्यसपछि उहाँ पार्टीको युवा संगठनमा जोडिनुभयो । यही क्रममा शर्माले २०४८ र २०५० सालमा सैन्य तालिम समेत लिनुभयो । २०४७ सालदेखि युवा संगठनमा आवद्ध हुनुभएका शर्माले भूमिगत रुपमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । त्यतिबेला ग्रामिण वर्ग संघर्ष अन्तरगत विभिन्न विभेदका घटना विरुद्ध विद्रोह देखि सामुहिक खेती लगायतका जनसेवाका विभिन्न काममा उहाँले रुकुमको पूर्वी भाग हुकाम, मैकोट, तकसेरा लगायतका ठाउँमा समय विताउनुभयो । सोही अवधिमा उहाँले सेना उत्पादनको काममा पनि भूमिका खेल्नुभयो । यही बेला उत्पादन भएका सेना पछि २०५२ देखि सुरु भएको जनयुद्धमा सहभागि भए । मोटो मसाल, त्यसपछि एकता भएर बनेको जनमोर्चा हुँदै उहाँ माओवादीले २०५२ सालदेखि सुरु गरेको जनयुद्धमा सामेल हुनुभयो ।

यहाँको समस्यालाई हल गरेर कर्णालीलाई समृद्ध बनाउन आवश्यक छ । हिजोका ठालुहरुले पिछडिएको भनेको र पछाडि पारेको कर्णालीलाई माथि उठाउन सकिन्छ । कर्णालीबाट समृद्धिको अभियान थालनी गर्नुपर्छ ।

उहाँले पार्टीभित्र संगठकको जिम्मेवारीमा रहेर काम गर्नुभयो । त्यसक्रममा उहाँले एक दर्जन युद्धको राजनीतिक नेतृत्व समेत गर्नुभएको छ । जनयुद्ध सुरु भएपछि जनयुद्धका बारेमा गलत प्रचार गर्ने प्रयास भएको पाइएपछि पार्टीले सशस्त्र कब्जा अभियान चलायो । उहाँ त्यसको सदस्य हुनुभयो र गाउँ गाउँमा गएर जनयुद्ध र यसको उदे्श्यका बारेमा बुझाउने काम गर्नुभयो । पछि यो अभियानलाई पार्टी केन्द्रले पनि ग्रहण गर्यो ।

२०५४ सालमा भने उहाँको कर्णाली उपक्षेत्रिय व्युरोमा सरुवा भयो । त्यसपछि उहाँले साविकको कर्णाली अञ्चलका विभिन्न जिल्लामा विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । उहाँले जुम्ला, कालिकोट, मुगु र बाजुराका विभिन्न भागलाई जोडेर बनाइएको जिल्लाको सेक्रेटरी र इन्चार्ज भएर २०५४ देखि २०५८ सम्म काम गर्नुभयो । २०५८ देखि २०६१ सम्म भने उहाँले हुम्ला, मुगु र बाजुराको सेक्रेटरी तथा इन्चार्ज भएर काम गर्नुभयो ।

२०५७ तिर उहाँले भेरी कर्णाली क्षेत्रिय व्यरोमा पनि काम गर्नुभयो । २०६१ तिर दैलेखमा प्रतियुद्धको अवस्था देखिएपछि पार्टीले त्यहाँ खटायो र सेक्रेटरी र इच्चार्ज भएर काम गर्नुभयो । शान्ति प्रक्रियापछि २०६३ देखि ०६६ सम्म उहाँले थारुवान राज्यको प्रचार विभाग प्रमुख भएर काम गर्नुभयो भने २०६७ देखि २०७४ सम्म नेवा राज्यमा काम गर्नुभयो । २०६८ मा उहाँ पार्टीको केन्द्रीय सदस्य बन्नुभयो भने २०७४ मा उहाँ माओवादीको पोलिटव्युरो सदस्य हुनुभयो । २०७१ तिर उहाँले पार्टी केन्द्रीय प्रचार विभागमा रहेर काम पनि गर्नुभयो भने कर्मचारी महासंघको केन्द्रीय सह इन्चार्जको भुमिका निर्वाह गरेको अनुभव समेत उहाँसंग छ ।

२०७४ मा भने उहाँ जिल्ला फिर्ता हुनुभयो । २०७४ को स्थानीय तहबाट चौरजहारी नगरपालिका १४ को वडा सदस्यमा निर्वाचित हुनुभएका शर्मा ५ वर्ष जिल्ला समन्वय समितिको प्रमुख हुनुभयो । यो विचमा २०७५ देखि उहाँले पार्टीको रुकुम पश्चिमको इन्चार्ज र २०७८ सालमा कर्णाली प्रदेश अध्यक्ष भएर काम गर्नुभयो । २०७५ मा उहाँ नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको पनि केन्द्रीय सदस्य हुनुभयो हाल उहाँ नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुनुहुन्छ ।

उहाँ गत मंसिर ४ गते भएको निर्वाचनबाट रुकुम पश्चिम प्रदेश सभा २ बाट फराकिलो मतान्तरले विजयी हुनेभयो । उनै शर्मा बुधबार कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीको समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

समृद्ध कर्णालीको अभियान थालनी हुन्छ 

सिंगो कर्णाली ऐतिहासिक सम्पदा हो । कर्णाली नेपाली भाषाको उत्पत्ति स्थल हो । कला संस्कृति र व्यापार व्यवशायका लागि पुरानो विरासत बोकेको ठाउँ हो । श्रम, प्रकृति, भूगोल, पर्यटन, जल जमिन लगायतमा प्रचुर सम्भावना बोकेको र धनी क्षेत्र हो कर्णाली । म कर्णालीका लगभग सबै भूगोलमा पुगेको छु । यहाँका समस्या र सम्भावनाका बारेमा राम्ररी जानकार छु । यहाँको समस्यालाई हल गरेर कर्णालीलाई समृद्ध बनाउन आवश्यक छ । हिजोका ठालुहरुले पिछडिएको भनेको र पछाडि पारेको कर्णालीलाई माथि उठाउन सकिन्छ । कर्णालीबाट समृद्धिको अभियान थालनी गर्नुपर्छ ।