को–को छन् माओवादीकाे केन्द्रीय पदाधिकारीका आकांक्षी ?




नेकपा माओवादी केन्द्रको विधान संशोधन प्रस्ताव पारित भएपछि मात्रै केन्द्रीय कमिटी र पदाधिकारी चयन हुने भएका छन् ।

काठमाडौंमा जारी माओवादीको आठौं महाधिवेशनमा स्थायी कमिटी सदस्य देव गुरूङले पार्टीको विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।

प्रस्ताव समूहगत रूपमा छलफल भइसकेको छ । विधानमाथि प्रतिनिधिले उठाएको प्रश्न र दिएको सुझावबारे शनिवारको बन्दसत्रमा देव गुरूङले जवाफ दिने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले जानकारी दिए ।

महाधिवेशनबाट विधान संशोधन भएपछि मात्रै नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने महराले बताए । विधान संशोधन प्रस्तावबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक महाधिवेशनस्थल नेपाल प्रज्ञा प्रतिष्ठानमा बसिरहेको छ ।

गुरूङले पेश गरेको विधान संशोधन प्रस्तावमा २९९ जनाको केन्द्रीय कमिटी बनाउने भनिएको छ भने १५ जनाको पदाधिकारी बनाउने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव–३ र कोषाध्यक्ष १ रहने प्रस्ताव गरिएको छ ।

तर महाधिवेशन हलमा कतिपयले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी मात्रै चयन हुनुपर्ने र पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्नुपर्ने तर्क गरेका छन् । कतिपय महाधिवेशन प्रतिनिधि बन्दसत्रको हलबाटै पदाधिकारी पनि चयन हुनुपर्ने पक्षमा छन् ।

महाधिवेशनबाट माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दोहोरिँदैछन् । माओवादी केन्द्रभित्र अहिल्यै नेताहरूले प्रचण्डको विकल्पबारे चर्चा गर्ने गरेका छैनन् ।

नेतृत्वमा प्रचण्डलाई चुनौती दिने गरी अरू कुनै पनि नेताले दाबी गरेका छैनन् । तसर्थ अध्यक्षमा प्रचण्ड फेरि दोहोरिने स्वतःसिद्ध छ । करीब ३ दशकयता अविच्छिन्न रूपमा नेतृत्वमा रहेका प्रचण्डले फेरि अध्यक्षमा आफूलाई अनुमोदन गराउँदैछन् ।

कार्यकारी भूमिकाको हिसाबले अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा धेरैजसो नेताहरू माथापच्ची गरिरहेका छन् । माओवादी केन्द्रमा अहिले बन्ने महासचिवलाई नै प्रचण्डको उत्तराधिकारीको रूपमा हेरिएको छ । त्यसकारण प्रचण्डको उत्तराधिकारी बन्ने होडमा कसले जित्ने भन्ने दौड माओवादी केन्द्रमा देखिएको छ ।

माओवादी केन्द्रका नेताहरू जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसाल महासचिव बन्ने होडमा छन् । उनीहरू तीनै जनालाई माओवादी केन्द्रको भाबी नेतृत्वको रूपमा पनि अर्थ्याउने गरिएको छ ।

माओवादी केन्द्रले केही समयअघि गरेको कार्यविभाजनमा जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । त्यसबेला नै शर्मालाई पार्टीको महासचिवको जिम्मेवारी दिन लागिएको चर्चा भएको थियो ।

निरन्तर रूपमा अध्यक्ष प्रचण्डको सानिध्यमा रहेर काम गरेका नेता वर्षमान पुनले पनि पार्टीमा महासचिवको जिम्मेवारी दाबी गरेका छन् । चीनमा स्वास्थ्य उपचार गराइरहेका पुनलाई पार्टीमा अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

२०५२ सालमा माओवादीले सशस्त्र युद्ध शुरू गर्नुअघि नै केन्द्रीय कमिटीमा पुग्ने महिला नेत्री हुन् पम्फा भुसाल । सशस्त्र युद्धका बेला ‘विद्युत्’ नामले चिनिने भुसाल अहिले सरकारमा ऊर्जामन्त्री छिन् । उनले पनि पार्टीमा कार्यकारी भूमिकामा रहेर काम गर्ने चाहना राखेकी छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको हलबाट माओवादी केन्द्रको महासचिवको ‘ब्याच’ लगाएर को निस्कन्छ भन्ने निर्क्यौलमा सायद शनिवारसम्म हुनसक्छ । त्यसबाहेक अहिले पार्टीमा अध्यक्ष प्रचण्डपछि दोस्रो वरियतामा रहेका नारायणकाजी श्रेष्ठदेखि कृष्णबहादुर महरा र देव गुरूङसम्मका नेतालाई उपाध्यक्षको जिम्मेवारी दिने सम्भावना रहेको माओवादी केन्द्रभित्र चर्चा छ ।

माओवादी केन्द्रमा महासचिव बाहेकको पद व्यवस्थापन गर्न त्यति कठिन देखिएको छैन । उपाध्यक्ष र महासचिवपछि हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, मात्रिका यादव, देवेन्द्र पौडेल, शक्ति बस्नेत लगायत नेताहरू उपमहासचिव र चक्रपाणि खनाल, लिलामणि पोखरेल, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, हितमान शाक्य, महेन्द्रबहादुर शाही मध्येबाट केहीलाई सचिवको जिम्मेवारीमा ल्याउने सम्भावना रहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १६ गते शुक्रबार