१४ महिने बालक अपहरण गरेर भारततिर भाग्दै गरेका युवक पक्राउ

सुमन शर्मा ।

१४ महिने बालक अपहरण गरेको आरोपमा प्रहरीले धनुषाबाट एक भारतीय युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी ग्राम पञ्चायत बाजपट्टी १० घर भई धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१६ पुलचोक स्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेका धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार बुधबार साँझ करिब ७ बजेदेखि जनकपुरधाम उपमहानगरपलिका–१७ मनहरपुरका रासलाल मुखियाको घर अगाडीको सार्वजनिक बाटोबाट उनका १४ महिने छोरा कृष्ण हराएका थिए । लगतै परिवारजनले खोजतलास र प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ठाकुरलाई भारत तर्फ बच्चा लिएर भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। ठाकुरलाई बिहिवार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सिमाना नजिकैबाट नियन्त्रणमा लिइएको डिएसपी बस्नेतले बताए।