कप्तान करिम बेन्जेमा चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि रोचक जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले बिल्बाओलाई उसैको मैदानमा २–१ गोलले हरायो ।
रियलको जितमा दुवै गोल बेन्जेमाले गरे । बिल्बाओका ओइहान सान्सेटले सान्त्वना गोल फर्काए । तीनवटै गोल खेलको सुरुवाती १० मिनेट भित्र भएको थियो । रियलले चौथो मिनेटमै खाता खोलेको थियो । बेन्जेमाले टोनी क्रुसको पासमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । सातौं मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । जारी लिगमा उच्च लयमा रहेका बेन्जेमाको यो १५औं गोल हो । बिल्बाओले १०औं मिनेटमा गोल फर्कायो । ओइहान सान्सेटले ओस्कार डि मार्काेसको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा दुवै टोलीको गोल गर्ने प्रयास सफल भएन । ६० प्रतिशत बल पोसेसन राखेपनि रियलको जितमा पहिलो हाफकै नतिजा प्रयाप्त बन्यो । रियलका बेन्जेमा ‘म्यान अफ दी म्याच’ भए ।
जितसँगै रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको छ । रियलको १९ खेलबाट ४६ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३८ अंक छ । सेभियाले एक खेल कम खेलेको छ । पराजित बिल्बाओ २४ अंक सहित १०औँ स्थानमा छ ।
बुधबार रातिनै भएको अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिडलाई ग्रानाडाको नमिठो झट्का लागेको छ । एट्लेटिको ग्रानाडासँग २–१ गोलले पराजित भयो । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन ।
खेलको दोस्रो मिनेटमै जोओओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । ग्रानाडाका डार्विन माचिसले १७औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६१औं मिनेटमा जर्ग मोलिनाले गोल गर्दै ग्रानाडाको अग्रता दोब्बर बनाएका थिए ।
६० प्रतिशत बल पोसेसन राखेपनि दोस्रो हाफमा गोल फर्काउन नसक्दा एट्लेटिको हार खेप्न बाध्य बन्यो । जितसँगै ग्रानाडा १२औं स्थानमा उक्लिएको छ । ग्रानाडाको १८ खेलबाट २२ अंक पुगेको छ । पराजित एट्लेटिको २९ अंक सहित पाँचौ स्थानमा छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्