सल्यानमा कोभिड १९ विरुद्धको खोप कभरेज बृद्धिका लागि कार्ययोजना निर्माण

सल्यान ।

सल्यानको कपुरकोटमा कोभिड १९ विरुद्धको खोप कभरेज बृद्धिका लागि समिक्षा संगै कार्ययोजना निर्माण गरिएको छ । सोमबार सम्पन्न बैठकमा खोपको हाल सम्मको अवस्था, चुनौतिको विषयमा समिक्षा संगै खोप कभरेज बृद्धिका लागि योजना तर्जुमा गरिएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारि दिए । कपुरकोट गाउँपालिकामा पौष महिनाभित्र ८० प्रतिशत नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको छ । स्वास्थ्य शाखाका अनुसार हाल सम्म कोभिड भ्याक्सीनको पहिलो मात्रा लगाउने ५७ प्रतिशत र दोश्रो मात्रा लगाउने ४१ प्रतिशत रहेका छन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र स्वास्थ्यका लागि सक्षम प्रणालीको प्राविधिक सहयोगमा योजना तर्जुमा बैठक आयोजना गरिएको हो । बैठकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सिफारिस गरिएका सबै उमेर समूहका व्यक्तिले खोप लगाउन जरुरी रहेको बताए । कोरोना विरुद्धो खोपले कोरोना भाइरस रोग लाग्नबाट बचाउने, रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउने तथा अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट समेत जोगाउने भएकाले सबैले खोप लगाउनुपर्नेमा उनको जोड थियो । सबैलाई खोपको पहँचमा ल्याउनका लागि चेतना अभिवृद्धि संगै सूचना सम्प्रेशनमा सबैले सहयोग गर्नुपर्ने अध्यक्ष सेनको भनाई छ ।

यस्तै बैठकमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले स्वास्थ्यकर्मी र जनप्रतिनिधिको समन्वयलाई बढाएर कोभिड खोप अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले कोभिड खोपको बारे सबैले गाउँ वस्तीमा जानकारी फैलाउनुपर्ने बताउँदै प्राथमिकिकरणमा परेका सबैलाई खोपको पहुँचमा ल्याउनुपर्ने बताए ।

कार्यक्रमममा स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठ, स्वास्थ्यका लागि सक्षम प्रणालीका छत्रराज भट्टले खोप कभरेज बृद्धिका लागि के गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति राखेका थिए ।

कार्यक्रमको सहजिकरण गर्दै सिनियर अहेव सुवाश हमालले कपुरकोटमा मंगलबारबाट १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम रहेको जानकारि गराए । उनका अनुसार कपुरकोट गाउँपालिकामा उक्त उमेर समूहका २२४० विद्यार्थीलाई कोभिड विरुद्धको खोप दिइने छ ।

क्षयरोगमुक्त पालिका निर्माणका लागि समिति निर्माण

यसैविच कपुरकोट गाउँपालिकालाई क्षयरोगमुक्त पालिका निर्माणका लागि समिति निर्माण गरिएको छ । सोमबार पालिका स्तरिय अभिमुखिकरण संगै १७ सदस्यीय समिति गठन गरिएको हो । नेपाललाई सन् २०५० सम्म क्षयरोगको अन्त्य र सन् २०३५ सम्म क्षयरोग निवारण गर्ने लक्ष्य अनुरुप कपुरकोटमा पनि यस तर्फ विशेष ध्यान दिइएको स्वास्थ्य संयोजक अरुण दाहालले जनाए । हाल गाउँपालिकामा २९ जना क्षयरोगीका विरामीहरु रहेको उनले जनाए ।

क्षयरोगमुक्त पालिका घोषणाका लागि पालिकास्तरिय समितिले विभिन्न गतिविधिहरु सञ्चालन गर्ने स्वास्थ्य शाखाले जनाएको छ । समितिको संयोजकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, सह-संयोजकमा उपाध्यक्ष तिला बुढा मगर तथा सदस्यमा प्रमुख प्रशासकीय अधिकृत सहित वडाध्यक्षहरु, स्वास्थ्य चौकी प्रमुख, महिला स्वास्थ्य स्वयमसेविका, गैर सरकारी संस्था, विद्यालय, शिक्षा शाखा लगाएतका क्षेत्रका प्रतिनिधीहरु पनि छन् ।