Kohalpur Today Header Ads

बाँकेका ७५ पत्रकारको मिर्गौला परीक्षण, अधिकांश स्वस्थ




Sagarmatha CC TV

नेपालगन्ज । बाँकेमा ७५ जना पत्रकारको निःशुल्क मिर्गौला परीक्षण गरिएको छ। परीक्षण गरिएका पत्रकारमध्ये अधिकांशको मिर्गौला स्वस्थ रहेको पाइएको छ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्वसभापति तथा नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ जन्मजयन्तीको अवसरमा शनिबार नेपालगन्जमा पत्रकारका लागि निःशुल्क मिर्गौला परीक्षण गरिएको हो।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको समन्वय तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो।

परीक्षणमा संलग्न वरिष्ठ युरो सर्जन डा. दीपेशकुमार गुप्ताका अनुसार ७५ जना पत्रकारको स्वास्थ्य परीक्षण गर्दा दुई जनाको पित्तथैली र दुई जनाको मिर्गौलामा सानो आकारको पत्थरी भेटिएको थियो। अधिकांश पत्रकारको कलेजोमा बोसो जमेको अर्थात् ‘फ्याट्टी लिभर’ को अवस्था देखिएको उनले बताए।

‘धेरैजसोमा देखिएको फ्याट्टी लिभर ठूलो समस्या होइन। खानपान, रातो मासु, बोसो र तेलयुक्त खानेकुराका कारण यस्तो समस्या देखिने गरेको छ। अहिलेको अवस्थामा औषधि नै खानुपर्ने अवस्था भने होइन,’ डा. गुप्ताले भने।

सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जका सूचना अधिकारी किरण ऐरीका अनुसार ७५ जना पत्रकारले स्वास्थ्य सेवा लिएका थिए भने ६६ जनाले भिडियो एक्सरे गरेका थिए। उनीहरूको रगत, पिसाब तथा रक्तचापसमेत निःशुल्क परीक्षण गरिएको थियो।

कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले गरे । उनले स्वर्गीय पन्नालाल गुप्ताले पत्रकारितासँगै लोकतन्त्र, प्रजातन्त्र र सामाजिक न्यायका क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरे।

चौलागाईंले गुप्ताको योगदानलाई चिरस्थायी बनाउन नेपालगन्जमा उनको शालिक स्थापना गर्नुका साथै चोक तथा सडकको नामकरणका लागि सबै पक्ष एकजुट भएर पहल गर्नुपर्ने बताए।

पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानका अध्यक्ष, नेपालगन्जका पूर्वमेयर तथा वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ताले आफ्ना पिता पन्नालाल गुप्ताले जीवनभर पत्रकारितालाई मुख्य पेशा बनाएर समाज र लोकतन्त्रका लागि योगदान गरेको स्मरण गरे।

सो अवसरमा वरिष्ठ युरो सर्जन तथा स्वर्गीय गुप्ताका नाति डा. दीपेशकुमार गुप्ताले मिर्गौलाको स्वास्थ्य, मिर्गौला रोगबाट बच्न अपनाउनुपर्ने सावधानी तथा नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे जानकारी दिए।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले दिनरात पत्रकारिता कर्ममा खटिने पत्रकारको स्वास्थ्य अवस्था संवेदनशील हुने भएकाले महासंघले पत्रकारको स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको बताए।

‘गत वर्ष पनि हामीले स्वर्गीय पन्नालाल गुप्ताको जन्मजयन्तीको अवसरमा पत्रकारको निःशुल्क मुटु परीक्षण गरेका थियौँ । यस वर्ष मिर्गौला परीक्षण कार्यक्रम राखेका हौँ,’ उनले भने।

अध्यक्ष गिरीले स्वर्गीय गुप्ताले नेपाली पत्रकारितामा स्थापित गरेको निष्ठा, सादगी र व्यावसायिक प्रतिबद्धता आजका पत्रकारका लागि समेत अनुकरणीय रहेको बताए। उनले गुप्तालाई ‘सन्त पत्रकार’का रूपमा स्मरण गर्दै उनको योगदान नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ २७ गते शनिबार