सुदाम शर्मा, रुकुम पश्चिम | रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा नजिकैको सेरिगाउँ क्षेत्रमा सञ्चालनमा रहेको होटल श्री छोटो समयमै जिल्लाको उत्कृष्ट आतिथ्य सेवामध्ये एकका रूपमा स्थापित हुँदै गएको छ। करिब एक वर्षअघि सञ्चालनमा आएको यस होटलले गुणस्तरीय सेवा, स्वादिष्ट परिकार, सरसफाइ र पारिवारिक वातावरणका कारण आन्तरिक तथा बाह्य पाहुनाको मन जित्न सफल भएको छ।

खलंगा बजारमा विगतदेखि चर्चित होटलहरूबीच आफ्नो छुट्टै पहिचान बनाउँदै आएको होटल श्रीले आधुनिक सुविधा र उच्चस्तरीय सेवामार्फत पाहुनालाई फरक अनुभव प्रदान गरिरहेको छ। होटलका सञ्चालक मनोज खड्काका अनुसार करिब १ करोड १५ लाख रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको होटलमा २५ भन्दा बढी सुविधा सम्पन्न डिलक्स तथा भिआईपी कोठाहरू रहेका छन्।
“हामीले पाहुनालाई घरजस्तै आत्मीयता, स्वच्छ वातावरण र स्वादिलो खानाको अनुभव दिने प्रयास गरेका छौं,” खड्काले भने, “नेपाली लोकल खाना सेटदेखि इन्डियन र चाइनिज परिकारसम्म उपलब्ध छन्। विशेषगरी लोकल कुखुराको मासु र थकाली शैलीको खाना सेट ग्राहकबीच निकै लोकप्रिय छ।”
होटलमा कोठाको शुल्क सुविधा अनुसार एक हजारदेखि चार हजार रुपैयाँभन्दा माथिसम्म रहेको छ। सफा तथा व्यवस्थित कोठा, तातो–चिसो पानी, उच्च गतिको वाइफाइ, खुला पार्किङ र आरामदायी बासस्थानले होटललाई जिल्लाभित्र मात्र नभई बाहिरबाट आउने पाहुनाको समेत रोजाइ बनाएको छ।
रुकुम पश्चिमका स्थायी बासिन्दा एकराज शर्माले मुसिकोट पुग्दा आफूले धेरैपटक होटल श्रीमा बस्ने गरेको बताए। “पहिले अन्य होटलमा पनि बसेको थिएँ, तर होटल श्रीमा बस्दा घरकै जस्तो वातावरण महसुस हुन्छ,” उनले भने, “खाना स्वादिलो छ, व्यवहार आत्मीय छ र सरसफाइ पनि उत्कृष्ट छ।”

त्यस्तै, कोहलपुरका शिव डाँगीले पनि घुमफिरका क्रममा होटल श्रीमा पटक–पटक बसेको अनुभव सुनाउँदै होटलको सेवा, खानपिन र स्वच्छताप्रति सन्तुष्टि व्यक्त गरे। उनका अनुसार मध्यपहाडी लोकमार्गमा पर्ने भएकाले यात्रु तथा पर्यटकका लागि यो होटल सुविधाजनक गन्तव्य बनेको छ।
होटलको किचन र डाइनिङ हल पनि अत्यन्त सफा, हाइजेनिक र व्यवस्थित रहेको बताइन्छ। पारिवारिक जमघट, जन्मदिन, भोजभतेर, सरकारी तथा गैरसरकारी संस्थाका बैठक र कार्यक्रमका लागि समेत होटल उपयुक्त स्थान बन्दै गएको छ।
ग्राहकका लागि ग्रीन टी, मट्का चिया लगायत विशेष स्वादका पेय पदार्थ उपलब्ध गराइने होटल श्रीले गुणस्तरीय सेवा र आत्मीय आतिथ्यका माध्यमबाट रुकुम पश्चिमको होटल व्यवसायमा नयाँ मानक स्थापित गर्ने प्रयास गरिरहेको छ।
“रुकुम आउने जो–कोहीले एक रात यहाँको बसाइ अनुभव गर्नुपर्छ,” शर्माले भने, “रमणीय वातावरण, स्वादिलो खाना र आत्मीय सेवाले यहाँको बसाइलाई स्मरणीय बनाउँछ।”
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्