शेरबहादुर केसी सुर्खेत ।
सुर्खेत, असार ३ गते । मध्यपश्चिम विश्वविद्यालयको ऐतिहासिक चौथो दीक्षान्त समारोह, १८ औं सभा बैठक तथा वार्षिकोत्सव बुधवार भव्य रूपमा सम्पन्न भएको छ । वीरेन्द्रनगर, सुर्खेत स्थित विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसरमा आयोजित सो समारोह एवम् सिनेट बैठकको अध्यक्षता गरेका नेपाल सरकारका शिक्षा तथा खेलकूद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले कर्णालीमा अवस्थित विश्वविद्यालयका लागि आवश्यक पूर्वाधार, बजेट तथा दरबन्दीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले बदलिंदो विश्वपरिवेशमा आफूलाई निरन्तर पुनर्मूल्याङ्कन र पुनर्संरचना गर्न आवश्यक भएकोमा जोड दिए । मन्त्री पोखरेलले मध्यपश्चिम विश्वविद्यालयले सिंगो कर्णाली प्रदेशको शैक्षिक रुपान्तरणको नेतृत्व लिनुपर्नेमा जोड दिए। विश्वविद्यालय स्थापना भएको डेढ दशकमा अपेक्षित फड्को मार्दै विश्वविद्यालय द्रुतगतिमा अघि बढेकोमा सराहाना व्यक्त गरेका छ्न ।

सिनेट बैठकलाई विशेष सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले जनताको दशकौं लामो संघर्षबाट स्थापित विश्वविद्यालयको विकास र विस्तारमा तीन तहकै सरकारको दायित्व सम्झी विश्वविद्यालय अवस्थित स्थानीय सरकार र प्रदेश सरकारले सहयोगको सुरुवात गरेको बताए ।

दीक्षान्त समारोहका प्रमुख वक्ता त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद् केदारभक्त माथेमाले उच्च शिक्षाले केवल व्यक्तिको जीवन स्तर मात्र परिवर्तन नगरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउने भएकाले यस क्षेत्रको उच्च शिक्षा प्रदायक संस्थाको विकासमा सरकार सहित सरोकारवाला सबैको उत्तिकै साथ, सहयोग रहिरहने विश्वास व्यक्त गरे । विश्वविद्यालय स्थापनार्थ उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलको योगदानलाई स्मरण गर्दै माथेमाले विश्वविद्यालय स्थापनाका एक अभियन्ता नै उपकुलपति जस्तो प्रमुख कार्यकारी नेतृत्वमा आएकोमा सन्तोष व्यक्त गरे । उनले सहभागी सम्पूर्णलाई साक्षी राख्दै आफ्नो देश र समाजलाई कहिलै नबिर्सन दीक्षित विद्यार्थीहरुलाई अपिल गरे ।

सहकुलपति पोखरेलले समारोहका अवसरमा विभिन्न ग्र्याजुएट स्कूलका १९ सय २८ विद्यार्थीहरु दीक्षित गर्नुका साथै उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई पदक वितरण गरेका हुन ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. पौडेलले सभामा स्वागत मन्तव्यसँगै आ. व. २०८३/०८४ को नीति तथा कार्यक्रम र समारोहमा दीक्षान्त मन्तव्य राखेका थिए भने सभाका सदस्य-सचिव रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीले सिनेट बैठकसँगै दीक्षान्त समारोहको सञ्चालन गरेका थिए ।

१८ औं सिनेट बैठकमा दीक्षित हुने विद्यार्थीहरुको ग्रेसलिष्ट पास गर्नुका साथै रजिष्ट्रार सहप्रा. डा. अयडीद्वारा प्रस्तुत आ. व. २०८३/०८४ को बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव आवश्यक संशोधन सहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्