रणनीतिक योजना विकास सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न




सुर्खेत, जेठ २० गते।

मध्यपश्चिम विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक नेतृत्वकर्ताहरूका लागि आयोजना गरिएको तीनदिने रणनीतिक योजना विकास सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम बुधबार सम्पन्न भएको छ ।


सो समापन समारोहलाई सम्बोधनगर्दै प्रमुख अतिथि विश्वविद्यालयका रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडीले रणनीतिक सोच, योजनाबद्ध कार्यप्रणाली र उत्तरदायी नेतृत्व विश्वविद्यालयको दिगो विकासका आधारस्तम्भ रहेको वताए। उनले उच्च शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्न स्पष्ट दृष्टिकोण, प्रभावकारी योजना तथा प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट हासिल ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई निर्देश गरे ।


उनले क्षमता अभिवृद्धि कार्यक्रम केवल कर्मकाण्डी नभै संस्थागत सुशासन, कार्यसम्पादन सुधार तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउन सहयोगीसिद्ध हुनुपर्ने धारणा व्यक्त गरे ।


रजिष्ट्रार सहप्रा. डा. अयडीले हाम्रो विश्वविद्यालय सरकारको नियमित बजेट नभै अनुदानको भरमा चलेकाले यसको दीगोपनाका लागि आफ्नो खुट्टा जमिनमा टेक्न सक्ने गरी आफूलाई सबलताको मार्गमा लैजानुपर्ने बताउनुभयो । उहाँले सबैलाई इमान्दारितापूर्वक तोकिएको ड्यूटी पूरागरी संगठनको लक्ष्य पछ्याउन सुझाव दिए ।

कार्यक्रमका अध्यक्ष योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले विश्वविद्यालयको दीर्घकालीन विकासका लागि रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गरे ।
विभिन्न ग्र्याजुएट स्कूलका डीन, निर्देशक, प्राध्यापक तथा प्रशासनिक कर्मचारीहरू सहभागी समापन कार्यक्रमको सञ्चालन निर्देशनालयका प्रशासन प्रमुख एवम विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले गरेका थिए ।


योजना विकास तथा अनुगमन निर्देशनालयको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित उक्त कार्यक्रम विश्वविद्यालयका आङ्गिक क्याम्पस सहित विभिन्न निकायमा कार्यरत नेतृत्व तहका पदाधिकारी तथा प्रशासकहरूको रणनीतिक योजना निर्माण, संस्थागत विकास तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको थियो।


तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा उच्च शिक्षाको दर्शन, रणनीतिक व्यवस्थापन, संस्थागत विकास, नेतृत्व सुदृढीकरण, कार्यसम्पादन सुधार तथा योजना तर्जुमा सम्बन्धी विविध विषयमा रजिष्ट्रार सहप्रा. डा. अर्जुनबहादुर अयडी सहित प्रा. डा. चन्द्रप्रसाद रिजाल, सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, सहप्रा. डा. पूर्णमान श्रेष्ठ, डा. विष्णुकुमार खड्का, डा. यदुप्रसाद ज्ञवाली लगायतले सहजीकरण गरेका थिए ।

सहभागी सम्पूर्ण लाई  प्रमाणपत्र समेत प्रदान गरिएको सहभागी एवम् मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक एकराज शर्माले जानकारी दिए । साथै मध्यपश्चिम विश्वविद्यालयले जेष्ठ १५ गते देखि १९ गते सम्म विश्वविद्यालयले सन्चालन गर्दै आएको ग्र्याजुएट स्कुल अफ एजुकेसन अन्तरगत स्नातक तथा स्नातकोत्तर तहका कोर्ष परिमार्जन गरेका विशेषज्ञ  प्राध्यापकहरु लाई पांचदिने रिफरेशमेन्ट कार्यशाला आयोजना गरेको स्कुल अफ एजुकेसन डिनको कार्यालयका उप प्राध्यापक भिम रोकायले कोहलपुर टुडे लाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार