
कोहलपुर। कोहलपुर नगरपालिका–१० की पुनम चौधरी हातमा झाडु बोकेर सडक सफा गर्ने उनको दैनिकी रोजगारीमा मात्र सीमित छैन नगरलाई स्वच्छ राख्ने जिम्मेवारी पनि हो । तर, वर्षौंदेखि श्रम गरिरहँदा पनि उनीजस्ता श्रमिकले पाउने सम्मान भने सधैं समान रहन सकेको छैन । कोहलपुर नगरपालिकाले पुनमलाई दैनिक ज्यालादारीमा सरसफाइकर्मीका रुपमा खटाएको छ ।
सरकारी दररेटअनुसार उनले दैनिक ७५४ रुपैयाँ पारिश्रमिक पाउँछिन् । उनीजस्तै २० जना सरसफाइकर्मी अहिले नगरभित्र सरसफाइको जिम्मेवारी सम्हालिरहेका छन् । उनीहरुको पसिनाले कोहलपुर सफा र व्यवस्थित देखिन्छ । बुधवार कोहलपुर रोजगार सेवा केन्द्रले ती श्रमिकहरुलाई नगरपालिकामा बोलाएर ‘श्रमिक सुरक्षा र चुनौती’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो ।
सामान्यतः आफ्नो काममै व्यस्त रहने सरसफाइकर्मीहरुका लागि यो कार्यक्रम आफ्ना अनुभव, समस्या र अपेक्षा राख्ने अवसर बन्यो । पुनम चौधरीले भन्नि–‘हामीजस्ता सरसफाइकर्मीलाई बोलाएर हाम्रो कुरा सुन्ने अवसर दिनुभयो, यसले खुसी लागेको छ ।’
सरसफाइ जस्तो कामको महत्व हुँदाहुँदै पनि समाजमा श्रमिकको सम्मान गर्ने परिरपाटीको विकास नभइरहेको अवस्थामा सेवा केन्द्रले श्रमिकलाई बोलाएर आफ्ना कुराहरु राख्ने अवसर दिएको भन्दै खुसी व्यक्त गरिन् ।
अर्की श्रमिक विपरानी थारुले भने श्रमको मूल्यांकन हुँदै आएको स्वीकार गरे पनि श्रमिक अधिकारका केही पक्ष अझै अधुरा रहेको बताइन् । ‘पारिश्रमिक त पाउँछौं, तर साप्ताहिक बिदा नियमित पाउन सकिएको छैन’–उनले गुनासो गरिन् ।
कार्यक्रममा रोजगार संयोजक आशिष वर्माले श्रमिकहरुको आर्थिक सुरक्षा र व्यक्तिगत सुरक्षा अहिले सबैभन्दा ठूलो चुनौती बनेको बताए । ‘वास्तविक श्रमिकहरु अझै पनि जोखिमपूर्ण अवस्थामा काम गरिरहेका छन्, उनीहरुको सुरक्षामा विशेष ध्यान दिन आवश्यक छ ।
यो अन्तरक्रियाले श्रमिकको समस्या बुझ्ने र सम्वोधनमा सहजीकरण गर्नु हो ।’ नगर प्रहरी प्रमुख वीरबहादुर थापाले सरसफाईकर्मीहरुलाई ज्यालादारीको रुपमा मात्रै नहेरेर सम्मानित श्रमिकका रुपमा हेरिएको बताए । उनले सरसफाईकर्मीहरुको पहलमा कोहलपुरलाई सफा र सुन्दर नगर बनाउन सघाउ पुर्याएको पनि बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्