कोहलपुर १२ मा ‘दोस्रो वडा कप’ सुरु




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १२ वडाको दोस्रो वडा कप सुरु भएको छ ।

शुक्रबार ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ बाँके जिल्ला राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजना तथा कोहलपुर नगरपालिका १२ वडाको आर्थिक सहयोगमा दोस्रो वडा कप तथा १९औं जिल्ला खुल्ला तेक्वान्दो प्रतियोगिता २०८३ सुरु भएको हो ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन समारोहमा बोल्दै कोहलपुरलाई शिक्षा र खेलकुदको हबका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकार सक्रिय रूपमा लागेको बताए ।

उनले कोहलपुर शैक्षिक सम्भावना बोकेको क्षेत्र मात्र नभई खेलकुदमा पनि ऐतिहासिक उपलब्धि हासिल गरेकोे उल्लेख गर्दै विगतदेखि नै यहाँका खेलाडीहरूले प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म उत्कृष्ट प्रदर्शन गर्दै कोहलपुरको नाम चिनाउन सफल भएको नगर प्रमुख आचार्यले बताए ।

‘युवापुस्तामा खेलप्रति बढ्दो आकर्षणलाई सही दिशा दिन आवश्यक रहेको छ,’ उनले भने, ‘प्रतिभाशाली खेलाडीलाई अवसर, प्रोत्साहन र आवश्यक पूर्वाधार उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ ।’ खेलकुदले अनुशासन, सकारात्मक सोच र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखिएको नगर प्रमुख आचार्यको भनाइ थियो ।

यस्तै कार्यक्रमका संयोजक बुद्धि थापाले प्रतियोगितामा तीन सयभन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको बताए ।

‘यति ठूलो संख्यामा खेलाडीहरूको सहभागिताले कोहलपुरमा खेलकुदप्रतिको आकर्षण र सम्भावना स्पष्ट देखिएको छ’, उनले भने, ‘प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्नुका साथै खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’

खेलाडीहरूको विकाससँगै भौतिक पूर्वाधार निर्माणमा समेत कोहलपुर नगरपालिकाले उल्लेखनीय काम गरेको बताउँदै विशेषगरी नगर प्रमुखज्यूको अहम भूमिका, सक्रिय नेतृत्व र सहयोगमार्फत खेलमैत्री वातावरण निर्माण भएको बताए ।

प्रतियोगितामा सामाजिक विकास समिति संयोजक ईश्वरी विक, खेलकुद विकास समिति अध्यक्ष चक्र बहादुर चिमाला क्षेत्री, इलाका प्रहरी कार्यालय प्रतिनिधि लगायत खेलाडीहरुको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार