मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच छात्रवृत्ति सम्झौता पत्रमा हस्ताक्षर




सुर्खेत, वैशाख १० गते । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबीच विहीवार उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष २०८३ सम्बन्धी आपसी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहका बीच नगर प्रमुख ढकाल र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. गौतमले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।


सम्झौता अनुसार कूल दुई करोड दुई लाख दुई हजार दुई सय दुई राशी रहेको अक्षयकोष स्थापना भएको छ । जसले स्थानीय सरकार र विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ । यसबाट विशेषगरी स्थानीय विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा नगर प्रमुख ढकालले स्थानीय सरकारले पनि उच्च शिक्षाको दायित्व वहन गर्नुपर्छ भन्ने हेतुले आफ्नो नगर क्षेत्रभित्र अवस्थित विश्वविद्यालय र प्रदेश राजधानीको नगरपालिका हुनुका नाताले पनि सबै क्षेत्रलाई समेटेर लैजानुपर्ने अभिभारा आफूहरुसँग भएको बताईन ।


उपकुलपति गौतमले विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय अनुभव र अभ्यासमा आधारित प्रस्तुति गर्दै आफ्नो नेतृत्व कालमा विश्वविद्यालयलाई समुदायसँग जोड्न र विश्वविद्यालयको स्थायी कोष (एन्डोमेन्ट फन्ड) निर्माणका लागि कार्यविधि पास गर्न पहल गरेको बताइन । उनले स्थानीय सरकार र विश्वविद्यालय बीचको सहकार्यले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख निलकण्ठ खनाल, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापा, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा सहित विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत विभिन्न ग्र्याजुएट स्कूलका डीन, कार्यकारी निर्देशक सहितका पदाधिकारी तथा प्राध्यापक कर्मचारी, स्ववियु अध्यक्ष लगायतको उपस्थिति रहेको  विश्वविद्यालयका  अधिकृत शेर बहादुर केसिले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख १० गते बिहीबार