
कल्पना कार्की, कोहलपुर । बझाङ्गी सेवा समाज बाँकेको प्रथम साधारणसभा सम्पन्न भएको छ। नेपालगन्ज उपमहानगरपालिका–राँझास्थित लायन्स पार्कमा आयोजित कार्यक्रममा करिब ६० जना बझाङ्गी बासिन्दाको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक तथा समाजसेवी बिरेन्द्र बहादुर भण्डारीले विभिन्न पेशा–व्यवसायमा संलग्न भई बाँके जिल्लामा बसोबास गर्दै आएका बझाङ्गी समुदायबीच आपसी सहयोग, सहकार्य र एकताको भावना अझ सुदृढ बनाउन समाजको महत्वपूर्ण भूमिका रहने बताए। उनले बझाङ्गी भाषाको संरक्षण, देउडा संस्कृतिको प्रवर्द्धन तथा समुदायका समस्याको समाधानका लागि समाज सक्रिय हुनुपर्नेमा जोड दिए।
साधारणसभाले महेश भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा दीपक बहादुर सिंह, महिला उपाध्यक्षमा कल्पना कार्की भण्डारी, सचिवमा विनोद खड्का, सहसचिवमा हिक्मत सिंह तथा कोषाध्यक्षमा मोहन जोशी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा किशोर खड्का, प्रकाश सार्की, कमला गिरी, भीम बहादुर सिंह, मदन सुवेदी, जयराज उपध्याया र स्वस्तिका जोशी रहेका छन्। बाँकी दुई सदस्य भने पछि मनोनयन गरी १५ सदस्यीय कार्यसमिति पूर्ण गरिने जनाइएको छ।
निर्वाचन अधिकृत अम्मरराज खत्रीले नवगठित कार्यसमितिलाई सपथ ग्रहण गराउँदै प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बनभोजको समेत आयोजना गरिएको थियो भने बझाङ्गी भाषामा आधारित सांस्कृतिक झल्को दिने देउडा खेल पनि प्रस्तुत गरिएको थियो।
तदर्थ समितिका अध्यक्ष नारद पुरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विनोद खड्काले गरेका थिए।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्