अन्तराष्ट्रिय सम्मेलन सफल बनाउन प्रदेश र स्थानीय सरकारसँग सहकार्यको पहल




सुदाम शर्मा, कर्णाली ब्युरो।

सुर्खेत, चैत्र १७ गते । मध्यपश्चिम विश्वविद्यालयद्वारा आगामी बैशाख ११ देखि १३ गतेसम्म आयोजना हुन लागेको अन्तराष्ट्रिय सम्मेलन २०२६ लाई सफल बनाउन प्रदेश सरकार तथा स्थानीय सरकारसँग सहकार्यका लागि महत्वपूर्ण छलफल गरिएको छ । अन्तरराष्ट्रिय सम्मेलन व्यवस्थापन समितिका संयोजक एवम् अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीको नेतृत्वमा गएको विश्वविद्यालय टोलीले मंगलबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह र वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख मोहनमाया ढकालसँग मन्त्रालय तथा नगरपालिका कार्यालयमै पुगेर छुट्टाछुट्टै छलफल गरेको हो ।

छलफलमा विश्वविद्यालयका तर्फबाट संयोजक डा. ज्ञवाली सहित सदस्य–सचिव डा. विष्णुकुमार खड्का, सदस्यद्वय डा. लक्ष्मीप्रसाद आचार्य र डा. पुष्पराज आचार्य तथा सम्मेलन व्यवस्थापन समितिका सल्लाहकार ग्र्याजुएट स्कूल अफ म्यानेज्मेन्टका डीन सहप्रा. डा. पूर्णमान श्रेष्ठको समेत उपस्थिति रहेको थियो । बैठकमा सम्मेलनलाई प्रभावकारी र भव्य रूपमा सम्पन्न गर्न आवश्यक सहकार्यका विविध पक्षमा केन्द्रितरही गहन छलफल गरिएको थियो।

संयोजक डा. ज्ञवालीले सम्मेलनको गरिमा, विश्वविद्यालय मात्र नभई यस क्षेत्रको समग्र सामाजिक, आर्थिक तथा पर्यटकीय विकासमा पार्ने सकारात्मक प्रभाव र अन्तरराष्ट्रिय समुदायमा जाने सन्देशबारे प्रकाश पार्दै दुवै तहका सरकारसँग सहकार्यका लागि विशेष अपिल गरे ।

विश्वविद्यालय टोलीले प्रस्तुत गरेको सहकार्य प्रस्तावप्रति मन्त्री शाह र नगर प्रमुख ढकालले सकारात्मक प्रतिक्रिया जनाउँदै यसअघि पनि सहकार्य हुँदैआएको उल्लेखगर्दै यस महत्वपूर्ण शैक्षिक मेलामा समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैबीच विश्वविद्यालय टोलीले सेभ द चिल्ड्रेनका कर्णाली प्रदेश प्रतिनिधि बालमुकुन्द महतसँग भेटगरी सम्मेलनका लागि सहकार्यको प्रस्ताव समेत पेश गरेको विश्वविद्यालयका सूचना अधिकारी शेर बहादुर केसिले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार