मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत उद्योग वाणिज्य संघबीच आसन्न अन्तरराष्ट्रिय सम्मेलन सफल पार्न छलफल




कृष्ण कुमार शाही, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयद्वारा आगामी बैशाख ११ देखि १३ सम्म आयोजना हुन गैरहेको’मल्टिडिसिप्लिनरी इन्टरनेशनल कन्फरेन्स’ (MUMIC-2026) का सम्बन्धमा सुर्खेत उद्योग वाणिज्य संघको सभाहलमा २०८२ चैत्र ९ गते द्विपक्षीय छलफल सम्पन्न भएको छ ।
सम्मेलन व्यवस्थापन समितिका संयोजक समेत रहेका  कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले अन्तर्राष्ट्रिय सम्मेलनको सञ्चालन मोडालिटीका बारेमा प्रकाश पार्दै निजी क्षेत्रको अग्रणी संस्था सुर्खेत उद्योग वाणिज्य संघले यसमा निर्वाह गर्न सक्ने भूमिकाका बारेमा अपेक्षाकृत सहयोगको अपिल गरे ।


सो सम्बन्धमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष श्री हर्षविक्रम खड्काले व्यवसायीहरूको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन, रोजगारीको सुनिश्चितता र स्टार्टअप बिजनेस (Startup Business) प्रवर्द्धनका लागि विश्वविद्यालयसँग हातेमालो गर्न संघ पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरा व्यक्त गरे । उनले आगामी दिनहरूमा दुवै संस्थाबीच अझ घनिभूत छलफल गरी युवामैत्री र व्यावसायिक विकासका कार्यक्रमहरू संयुक्त रूपमा अगाडि बढाउन संघ सधैं इच्छुक रहेको जानकारी दिए ।


आजै बसेको सम्मेलन व्यवस्थापन समितिको बैठकले अन्तरराष्ट्रिय सम्मेलनको तयारी बारे समीक्षा गर्दै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग सहयोगका लागि छलफल तथा अन्तरक्रियालाई थप तीव्रता दिने निर्णय गरेको  विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले कोहलपुर टुडे लाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार