कोहलपुरमा चैत ९ गतेदेखि १५ गतेसम्म स्क्रिनिङ शिविर र चैत १६, १७ र १८ गते शल्यक्रिया हुने




कोहलपुर । कोहलपुर नगरपालिकामा निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । कोहलपुर नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँको आयोजनामा उक्त शिविर सञ्चालन हुन लागेको हो ।

कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीका अनुसार शिविरमा विशेषज्ञ चिकित्सकद्वारा आँखा जाँच गरिनेछ । जाँचका क्रममा मोतिबिन्दु पहिचान भएका बिरामीलाई आवश्यक प्रक्रिया पूरा गरी शल्यक्रियाका लागि छनोट गरिनेछ ।

शिविरमार्फत स्थानीय बासिन्दालाई निःशुल्क आँखा परीक्षण, परामर्श तथा आवश्यक परे मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिनेछ । शल्यक्रिया शिविर अघि वडास्तरमा स्क्रिनिङ शिविर सञ्चालन गरिनेछ । चैत ९ गतेदेखि १५ गतेसम्म स्क्रिनिङ शिविर सञ्चालन हुने र शल्यक्रिया भने कोहलपुर नगर अस्पतालमा चैत १६, १७ र १८ गते गरिने ठकुरीले जानकारी दिए ।

विशेषगरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।उनका अनुसार तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरू कोहलपुरमै आएर आँखा जाँचसँगै शल्यक्रिया पनि निःशुल्क गर्ने भएकाले स्थानीय नागरिकले ठूलो लाभ पाउनेछन् ।

गत वर्ष पनि कोहलपुर नगरपालिकाले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा ४४३ जना नागरिकको मोतिबिन्दु शल्यक्रिया गरेको थियो । अन्धोपन न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले गत वर्षदेखि नै यस कार्यक्रमलाई प्राथमिकतामा राखेर सञ्चालन गर्दै आएको नगर प्रमुख आचार्यले बताए ।

शिविरले ग्रामीण तथा शहरी क्षेत्रमा रहेका दृष्टि समस्याबाट पीडित नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको नगर उपप्रमुख सङ्गीता सुवेदीले बताइन् । उनले भनिन्, “समयमै उपचार पाएमा अन्धोपनको जोखिम घट्ने र दैनिक जीवनयापनमा सहज हुने हाम्रो विश्वास छ ।”

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार