Kohalpur Today Header Ads

बैजनाथमा शिक्षक बैंक र विद्यार्थी छात्रवृत्ति योजना सार्वजनिक




बैजनाथ  । बैजनाथ गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८३ देखि लागू हुने गरी सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले “शिक्षक बैंक” तथा “विद्यार्थी छात्रवृत्ति” योजना सार्वजनिक गरेको छ।

गाउँपालिकाको शिक्षा शाखामार्फत सार्वजनिक गरिएको उक्त योजनाले शिक्षक अभाव व्यवस्थापन र विपन्न विद्यार्थीको शैक्षिक पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

LIfe Ok

गाउँपालिकाका शिक्षा प्रमुख विष्णु प्रसाद ढकालका अनुसार शिक्षक बैंक योजना अन्तर्गत विद्यालयमा कार्यरत शिक्षक वा शिक्षिका आकस्मिक बिरामी, सुत्केरी बिदा वा अन्य विशेष कारणले बिदामा बस्नुपरेमा शिक्षक बैंकबाट वैकल्पिक शिक्षक खटाइने व्यवस्था गरिनेछ। यसले पठनपाठनमा अवरोध नआउने र विद्यार्थीहरूको अध्ययन निरन्तर सञ्चालन हुने विश्वास गरिएको छ।

“विशेषगरी महिला शिक्षकहरू सुत्केरी वा स्वास्थ्य समस्याका कारण लामो बिदा बस्दा विद्यालयमा कक्षा प्रभावित हुने गरेको अवस्था छ। शिक्षक बैंकले यस्तो समस्या समाधान गर्दै शैक्षिक निरन्तरता सुनिश्चित गर्नेछ,” शिक्षा प्रमुख ढकालले बताए ।

स्थानीय शिक्षाविद्हरूले यो योजनालाई सामुदायिक विद्यालयको गुणस्तर सुधारतर्फको व्यावहारिक कदमका रूपमा लिएका छन्। अस्थायी शिक्षक व्यवस्थापन प्रणाली प्रभावकारी बनेमा कक्षा सञ्चालन नियमित हुने र विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने उनीहरूको धारणा छ।

यसैगरी, विद्यार्थी छात्रवृत्ति कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्य राखिएको छ। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीका अनुसार गरिब, विपन्न तथा असहाय विद्यार्थीको पहिचान वडा कार्यालयको सिफारिसमा गरिनेछ र त्यस्ता विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, विद्यालय पोशाक, स्टेशनरी लगायत आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइनेछ।

गाउँपालिकाले दुवै योजनाका लागि आवश्यक कार्यविधि तयार गरी शैक्षिक सत्र २०८३ देखि औपचारिक रूपमा लागू गर्ने जनाएको छ। यस पहलले विद्यालय छाड्ने दर घटाउने, अभिभावकको विश्वास बढाउने तथा सामुदायिक विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्ने अपेक्षा गरिएको छ।

स्थानीय सरकारको यो कदमलाई शिक्षा क्षेत्रमा दीर्घकालीन सुधारको आधार तयार गर्ने सकारात्मक प्रयासका रूपमा हेरिएको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार