मध्यपश्चिम विश्वविद्यालय र चंढीगढ़ विश्वविद्यालयबीच आपसी समझदारीपत्र (एमओयु) हस्ताक्षर नवीकरण कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालय, सुर्खेत नेपाल र चंढीगढ़ विश्वविद्यालय, पंजाव, भारत बीच आपसी समझदारीपत्र (एमओयु) हस्ताक्षर नवीकरण कार्यक्रम दुवै विश्वविद्यालयका उपकुलपतिस्तरमा चंढीगढ़ विश्वविद्यालय, पंजाव, भारतमा सम्पन्न भएको छ। मध्यपश्चिम विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालय को समन्वयमा उक्त एमओयु हस्ताक्षर नवीकरण कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा. डा. ध्रूव कुमार गौतमज्यू र चंढीगढ़ विश्वविद्यालय विश्वविद्यालय, पंजाव, भारतका तर्फबाट उपकुलपति प्रा. डा. रविराजा एन. सीथारामज्यूले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन।

सो अवसरमा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रूव कुमार गौतमले मध्यपश्चिम विश्वविद्यालय र चंढीगढ़ विश्वविद्यालयको स्थापनाको हिसाबले संगैसंगै भएको प्रसंग उल्लेख गर्दै यो समझदारीपत्रको प्रभावकारी कार्यान्वयनले दुवै विश्वविद्यालयका प्राध्यापकहरूको बीचमा अध्ययन, अनुसन्धान, प्रकाशन, अनुसन्धान तथा क्षमता विकास परियोजना, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी आदानप्रदान लगायतका अनेकन सम्भावना उजागर गरेको र यसको प्रभावकारी कार्यान्वयन र निरन्तरतामा जोड दिए ।मध्यपश्चिम विश्वविद्यालय क्युएस र्याङ्किङमा प्रवेश गर्नको लागि कमिटि बनाएर काम सुरु भएकोले सो कार्यमा आवश्यक प्राविधिक सहयोगको अपेक्षा गरेको र दुवै विश्वविद्यालयका मिल्दाजुल्दा कार्यक्रमहरूमा संयुक्त डिग्री प्रदान गर्ने गरी कार्यक्रम विकास गर्न लाग्नुपर्ने उपकुलपति प्रा. डा. गौतमज्यूले बताए ।

त्यसैगरी चंढीगढ़ विश्वविद्यालय विश्वविद्यालयका उपकुलपति प्रा. डा. रविराजा एन. सीथारामज्यूले चंढीगढ़ विश्वविद्यालय क्युएस ग्लोबल र्याङ्किङमा प्राइभेट युनिभर्सिटीहरूमा भारतको एक नम्बर विश्वविद्यालय भएको दाबी गर्दै आफ्नो विश्वविद्यालयको तर्फबाट मध्यपश्चिम विश्वविद्यालय पनि क्युएस र्याङ्किङमा जान लागेकोमा खुसी व्यक्त गर्दै सो कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न सो विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिलाका कार्यकारी निर्देशक प्रा. डा. राजन शर्मालाई समन्वय गर्न सुझाव दिए। उपकुलपति प्रा. डा. सीथारामज्यूले चंढीगढ़ विश्वविद्यालयले विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गरिरहेको प्रसंग स्मरण गर्दै मध्यपश्चिम विश्वविद्यालयसँग सन् २०१६ मा पहिलो पटक आपसी समझदारीपत्र (एमओयु) हस्ताक्षर भएदेखि हालसम्म निरन्तर सक्रिय साझेदार सहयात्री भएकोमा खुसी लागेको बताए।

उक्त अवसरमा मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. शोभाखर कँडेलले एकआपसमा सहकार्य र सरसहयोग आदानप्रदान कार्यक्रमलाई कार्यान्वयन गर्न तत्पर भएको बताए । चंढीगढ़ विश्वविद्यालय विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिलाका कार्यकारी निर्देशक प्रा. डा. राजन शर्माले मध्यपश्चिम विश्वविद्यालयले अप्रिल २४–२६ मा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो विश्वविद्यालय पनि सह-आयोजक सहित सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दै क्युएस ग्लोबल र्याङ्किङमा प्राविधिक सहयोग र मोबिलिटी कार्यक्रम तय गरेर कार्यान्वयन गर्ने बताए । मध्यपश्चिम विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु प्रसाद ज्ञवालीले आपसी समझदारीपत्र (एमओयु) हस्ताक्षर नवीकरण भए लगत्तै अब छिटै प्राध्यापक–विद्यार्थी आदानप्रदान कार्यक्रम अगाडि बढाउने र अन्य सम्भावित कार्यक्रम योजना बनाई लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति लगायतका पदाधिकारीहरूको सम्मानमा चंढीगढ़ विश्वविद्यालयका तर्फबाट सलामी अर्पण र खादाद्वारा स्वागत गरिएको थियो। उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णु कुमार खड्का, उपकुलपति कार्यालयका सचिवालय प्रमुख एवं व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख उप-प्रा. खेमराज रावत र चंढीगढ़ विश्वविद्यालयका विश्वविद्यालयका तर्फबाट अन्तर्राष्ट्रिय मामिलाका सहकार्य विभागका सहायक डीन प्रा. डा. अल्का ढीङग्रा, ग्लोबल एजुकेसन सेन्टरका सहायक डीन प्रा. डा. विमल शर्मा, अन्तर्राष्ट्रिय मामिलाका सिनियर अफिसर हिमांशु, र ग्लोबल एजुकेसन सेन्टरका सहायक अफिसर सपना शान्दिल लगायतको उपस्थिति रहेको थियो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्