नमुना विद्या सदनले मनायाे १९औँ वार्षिकोत्सव




काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिका ०८ मा रहेकाे  नमुना विद्या सदनले  १९औँ वार्षिकोत्सव मनाएकाे छ । स्थापना कालदेखि गुणस्तरीय शिक्षा, अनुशासन र समग्र व्यक्तित्व विकासलाई मूल आधार बनाउँदै आएको विद्यालयले बीएलई र एसईई परीक्षामा उल्लेखनीय नतिजा हासिल गरेकाे नमुना विद्या सदनले  १९औँ वार्षिकोत्सव मनाएकाे हाे ।

१९औँ वार्षिकोत्सवमा अभिभावक भेला तथा खाना, विज्ञान, कला–शिल्प र सांस्कृतिक प्रदर्शनीको अवसरमा भएकाे कार्यक्रममा वडा नं. ८ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लाल बहादुर रानाले विद्यालयको शैक्षिक उत्कृष्टताको प्रशंसा गरे। नगर शिक्षा प्रमुख रविलाल मिजारले प्रविधियुक्त युगमा अभिभावकको मार्गदर्शक भूमिका महत्त्वपूर्ण रहेको औँल्याए भने परीक्षा नियन्त्रण कार्यालय, कोहलपुरका प्रमुख गोपाल के.सी.ले अभिभावक–शिक्षक–विद्यार्थीबीचको सहकार्य नै सफलताको आधार भएको बताए।

प्रिन्सिपल सुदन गुरुङका अनुसार विद्यालयमा विशेष कोचिङ, नियमित मूल्यांकन, व्यक्तिगत परामर्श, विषयविज्ञ व्याख्यान र सीपमूलक तालिम सञ्चालन हुँदै आएका छन्। स्मार्टबोर्डसहित प्रविधिमैत्री कक्षा सञ्चालनले शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाएको छ।

खेलकुद, साहित्य, विज्ञान प्रदर्शनी र सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गरिएको थियो। राउटे, थारु र मारुनी नृत्यदेखि नाटक तथा परिकार प्रदर्शनीसम्म कार्यक्रम जीवन्त बनेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार