सुदाम शर्मा, कर्णाली व्युरो ।
मध्यपश्चिम विश्वविद्यालयमा परीक्षा प्रणाली सुधारका लागि सरोकारवाला बीच छलफल सम्पन्न भएको छ । विश्वविद्यालयमा परीक्षा प्रणालीका समस्या र समाधान विषयक छ्लफलमुलक अन्तरक्रिया कार्यक्रम शनिवार सरोकारवालाका बीच सम्पन्न भएको हो ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगर, सुर्खेतस्थित बैठक हलमा मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा परीक्षा व्यवस्थापन सम्बन्धी विविध चुनौती र सुधारका उपायहरु माथि केन्द्रित रही गहन छलफल गरिएको हो ।
मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख एवम् परीक्षा समितिका सदस्यसचिव सहप्रा. डा. अर्जुनबहादुर अयडीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै परीक्षा व्यवस्थापन कार्यालयले गरिरहेको कार्यप्रगति सहित परीक्षा प्रणाली सुधारका लागि आगामी दिनमा गर्न थालिएको योजना र कार्यक्रम बारे सहभागीहरु माझ गहन रुपमा प्रस्तुत गरेका थिए । पछिल्लो समय शिक्षकलाई पर्यवेक्षकका रुपमा महिनौं खटाइँदा एकातिर सम्बद्ध निकायमा पठनपाठनमा अभाव खट्किएको, अर्कोतिर ठूलो आर्थिकभार परिरहेको र त्यसमाथि पर्यवेक्षणमा जानु नजानुको खासै औचित्य नदेखिएको सन्दर्भमा उनले परीक्षालाई भौतिकका अलावा कसरी प्रविधिमैत्री तरिकाले ट्र्याक, नियमन गर्ने भन्ने विषयमा उपयुक्त कदम चाल्न ढिलाई गर्न नहुने वताए ।

परीक्षा प्रमुख डा. अयडीले आफ्नो पद बहाली पश्चात् परीक्षाको सुधारका लागि निरन्तर प्रयत्नशील रहेको बताउँदै नतिजा चाँडोमा परीक्षा भएको भोलिपल्टदेखि अधिकतम दुई महिनाभित्र नतिजा प्रकाशित गर्ने गरेको उल्लेख गरे । उनले ढिला नतिजा आएका कारण विद्यार्थी बाहिर गए भन्ने ठाउँ अब नराखेको समेत वताए । विश्वविद्यालय परीक्षा समिति सहित विभिन्न आङ्गिक क्याम्पस र केन्द्रीय विभागका प्रमुख तथा कर्मचारीहरु सहभागी उक्त कार्यक्रमको अध्यक्षता गरेका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले आफूले प्रणाली सिद्धान्त र विकेन्द्रीकरणमा विश्वास गर्ने भएकाले समयानुकूल विश्वविद्यालयको समग्र प्रणाली विकास गर्न जोड दिइने बताए । उउनले कसैको क्षेत्राधिकारमा हस्तक्षेप नगरिने तर आ-आफ्नो अधिकार र कर्तव्यमा रहेर जिम्मेवारी आआ-पूरा गर्न सम्बद्ध सबैलाई आह्वान गरे ।

विश्वविद्यालयको मुहार फेर्न सबैमा सामूहिक भावना आवश्यक रहेको बताउँदै रजिष्ट्रार कँडेलले विश्वविद्यालयको परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिए । उनले सबै शिक्षक- कर्मचारी अनिवार्य रुपमा सात घण्टा कार्यालयमा बस्नुपर्ने नियमलाई कडाइका साथ पालनागर्न, गराउन निकाय प्रमुखहरुलाई ध्यानाकर्षण गराए । उनले परीक्षामा पर्न सक्ने हेलो इफेक्ट न्यूनीकरण गर्न टोकन सिस्टमबाट निरीक्षक खटाउनुपर्ने र त्यसो गर्दा पनि कन्फिलिक्ट अफ इन्ट्रेष्ट नहुने गरी निरीक्षक व्यवस्थापन गर्नुपर्ने लागायतका आधारभूत उपायहरु सुझाए ।

अन्तरक्रियामा परीक्षा समिति सदस्य समेत रहेका डीन सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, परीक्षा व्यवस्थान सहप्रमुख डा. ज्ञानप्रसाद पौडेल र युवराज शर्मा लगायतका सहभागीहरूले विद्यमान परीक्षा प्रणालीमा देखिएका समस्याहरू पहिचान गर्दै तिनको दीर्घकालीन समाधानका निम्ति व्यावहारिक सुझावहरू राखे ।
परीक्षाको गुणस्तर वृद्धि, प्रशासनिक पारदर्शिता, विद्यार्थीमैत्री प्रणाली विकास तथा प्रविधिमैत्री परीक्षा व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा विमर्श गरिएको उक्त कार्यक्रमले विश्वविद्यालयमा आगामी दिनमा प्रभावकारी परीक्षा सञ्चालन गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सो अवसरमा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले २०८३ को शैक्षिक क्यालेण्डर निर्माणसँगै जनशक्ति व्यवस्थापन र अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको आसन्न दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको तयारीमा केन्द्रित रही सहभागीहरुमाझ छलफल गरेका थिए भने परीक्षा सुधारको लागि नयाँ सफ्टवयरबारे सूचना प्रविधि अधिकृत माधव प्रसाद पाण्डेयले प्रस्तुतीकरण गरेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले कोहलपुर टुडेलाई जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्