मध्यपश्चिम विश्वविद्यालय योजना परिषदको वैठक सम्पन्न




सुदाम शर्मा, कर्णाली व्युरो

मध्यपश्चिम विश्वविद्यालय योजना परिषद्को बैठक सम्पन्न भएको छ । पाँचवर्षे रणनीतिक योजनाको मस्यौदा प्रस्तुतीकरण  विश्वविद्यालय योजना परिष्द्को वैठक आइतबार वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ । बैठकले विश्वविद्यालयको आगामी पाँच वर्षे रणनीतिक योजना निर्माण सम्बन्धी प्रस्तुत मस्यौदा उपर गहन छलफल सहित एक साताभित्र अन्तिम रुप प्रदान गर्ने निर्णय गरेको हो ।


मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति एवम् योजना, विकास तथा अनुगमन परिषद्का अध्यक्ष प्रा. डा. ध्रुवकुमार गौतमले विश्वविद्यालय स्थापनाको मूल मर्म अनुरुप सरोकारवाला सबै पक्ष यो वा त्यो रुपमा निर्माण प्रक्रियामा सहभागी भै आ-आफ्नो अभिमत समेत योजनामा प्रतिबिम्बित भएकाले रणनीतिक योजना सबैले अपनत्वबोध गर्ने दस्तावेज बनाएकोमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरे । उहाँले सुन्दर योजना मात्र कोर्दा कार्यान्वयनमा कठिनाई हुने भएकाले वास्तविक स्रोत र सम्भावनाको तादात्म्यता हुने गरी योजना बनाइएको बताउनुभयो । विश्वविद्यालय अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले नेतृत्वको फेरबदलसँगै योजना फेरिने परम्परा तोड्दै संस्थागत निरन्तरतामा नयाँ योजना निर्माण गरिएको र तदनुरुप अघि बढ्दा नै संस्थाको स्थायित्व हुनेमा जोड दिए । उपकुलपति प्रा. डा. गौतमले रणनीतिक योजना अन्य कार्ययोजनाको गाइडलाइन भएकाले अँझ मूर्त रुपमा निकायगत कार्ययोजना निर्माण गर्न सकिने बताए । वैठकमा रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले योजना विश्वविद्यालयको आवश्यकता अनुरुप आफ्नो मौलिकतालाई आत्मसात् गर्न अभिमुख भएकाले यसको सफल कार्यान्वयनका लागि सबैले आ- आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
योजना परिषद्का विज्ञ सदस्य समेत रहनुभएका मस्यौदा लेखन कार्यदलका संयोजक प्रा. डा. चन्द्रप्रसाद रिजालले सहभागीहरु माझ मस्यौदाको प्रस्तुतीकरण गरे ।


छलफलमा डीनद्वय सहप्रा. डा. राजन सुवाल र सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, परीक्षा व्यवस्थापन प्रमुख सहप्रा. डा. अर्जुनबहादुर अयडी, कार्यकारी निर्देशकद्वय डा. लक्ष्मीप्रसाद आचार्य र डा. पुष्पराज आचार्य, डा. ऐश्वर्यप्रसाद ढकाल, उपप्रा. कल्पना पौडेल लगायतले पूरक मत राखेका थिए  ।
निर्देशनालयका प्रशासन प्रमुख एवम् विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसी र लेखा अधिकृत रचना विष्टले छलफलमा व्यक्त प्रतिक्रिया टिपोट गरे ।
विश्वविद्यालय सेवा आयोगका सदस्य डा. अमृतकुमार शर्मा गैरे सहित विभिन्न ग्र्याजुएट स्कूलका डीन, परीक्षा व्यवस्थापन प्रमुख, कार्यकारी निर्देशक, कार्यकारी परिषद् सदस्य , कार्यक्रम निर्देशक लगायत उपलब्ध प्राध्यापक तथा कर्मचारी सहभागी वैठकको संचालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् परिषद्का सदस्य-सचिव तथा रणनीतिक योजना निर्माण समितिका संयोजक डा. विष्णुकुमार खड्काले गरेको विश्वविद्यालयका सूचना अधिकारी  शेरबहादुर केसीले कोहलपुर टुडेलाई जानकारी दिए

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ २६ गते सोमबार