मध्यपश्चिम विश्वविद्यालयमा ६० घन्टे क्षमता विकास तालिम प्रारम्भ




सुदाम शर्मा, कर्णाली व्युरो
त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पसमा कार्यरत प्राध्यापकहरुका लागि ६० घण्टे क्षमता विकास सम्बन्धी तालिम आजबाट मध्यपश्चिम विश्वविद्यालय वीरेन्द्रनगर, सुर्खेतमा शुभारम्भ भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइ (मुटु) द्वारा आयोजित सो तालिमको मंगलवार विहान समुद्घाटन गरिएको हो ।


प्रमुख अतिथिका रुपमा कार्यक्रमको उद्घाटन गर्दै विश्वविद्यालय  अनुदान आयोगका सदस्य सचिव प्रा. डा. ज्ञानबहादुर थापाले उच्च शिक्षालाई समाजसँग जोड्नु अपरिहार्य भएको बताउए । सदस्य सचिव प्रा. डा. थापाले शिक्षा समाजको ऐना भएकाले आफ्नो तर्फबाट समाजलाई के योगदान गर्न सकिन्छ त्यसतर्फ केन्द्रित बन्नुपर्ने बताउए । उहाँले सिकाई एकापसमा शेयरिङद्वारा हुने भएकाले तालिमको भरपूर उपयोग गर्न सहभागीहरुलाई सुझाए  ।
सदस्य सचिव थापाले पिछडिएको प्रदेशका हिसाबले पनि कर्णालीको समग्र शिक्षा विकासका लागि आयोगको ध्यान केन्द्रित गरिने बताए ।


कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले तालिम आफैमा सहकार्य भएकाले परस्पर ज्ञान, सीप एवम् अनुभव आदानप्रदान गर्न तालिम उपयोगी हुने बताए । उहाँले तालिम सिक्ने सिकाउने र माझिने महत्वपूर्ण अवसर भएकाले सक्रिय सहभागिताका लागि आग्रह गरे ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई समुदायसँग जोड्न पहल गरिरहेको बताए । उहाँले प्रत्येकसँग प्रचुर क्षमता हुने भएकाले मानव संसाधनका रुपमा ग्रहण गरिएको भन्दै पृथक चेतना, विचार, सीप, कौशल, व्यवहार र सोंचलाई एकीकृत गरी समाज विकासमा लाउनुपर्ने धारणा प्रकट गरे ।


उपकुलपति गौतमले ज्ञान प्रदानसँगै अनुसन्धान र समाजलाई जिम्मेवार बनाउन उच्च शिक्षाकर्मीहरु लाग्नुपर्नेमा जोड दिए ।
उद्घाटन सत्रमा सहभागीहरुलाई शब्दद्वारा स्वागत गर्दै मध्य्पश्चिम विश्वविद्यालय तालिम इकाइ मुटुका संयोजक उपप्रा. कल्पना पौडेलले यसअघि आफ्ना प्राध्यापक तथा कर्मचारीहरुलाई तालिम सञ्चलन गरिएपनि पहिलोपटक विश्वविद्यालय अनुदान आयोगले त्रिविका प्राध्यापकहरुका लागि समेत तालिम चलाउन विश्वास गरेकोमा धन्यवाद व्यक्त गरिन ।
समुद्घाटन कार्यक्रममा सहभागीका तर्फबाट राडीज्यूला शिक्षा क्याम्पस आठबीसकोट रुकुम पश्चिमका क्याम्पस प्रमुख तेजबहादुर मल्लले तालिमबाट गरिएको अपेक्षा राखे । तालिममा त्रिभुवन विश्वविद्यालयका कर्णाली प्रदेश अवस्थित विभिन्न सामुदायिक क्याम्पसका ३० जना प्राध्यापकहरु सहभागी रहेका छन् ।
उद्घाटन कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका विभिन्न ग्र्याजुएट स्कूलका डीन, परीक्षा व्यवस्थापन प्रमुख, कार्यकारी निर्देशक सहितका पदाधिकारी तथा शिक्षक, कर्मचारीहरुको उपस्थिति रहेको विश्वविद्यालयका सूचना  अधिकारी  शेरबहादुर केसीले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार