मध्यपश्चिम विश्वविद्यालय दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन समितिको वैठक सम्पन्न




सुदाम शर्मा, कर्णाली व्युरो

अन्तरराष्ट्रिय सम्मेलनको तयारी तीब्र पार्ने निर्णय गर्दै मध्यपश्चिम विश्वविद्यालय दोस्रो अन्तरराष्ट्रिय सम्मेलन व्यवस्थापन समितिको प्रारम्भिक वैठक सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक एवम् सम्मेलन व्यवस्थापन समितिका संयोजक डा. यदुप्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले सम्मेलनको पूर्ण सफलताका लागि आवश्यक तयारी तीव्र पार्ने निर्णय गरेको हो ।


बैठकले सम्मेलनमा सहकार्यका लागि तीनै तहका सरकार, निजी क्षेत्र, कुटनीतिक नियोग लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ, संस्थालाई आह्वान गर्ने, विश्वविद्यालय अनुदान आयोगमा सम्मेलन अनुदानका लागि प्रस्ताव पेश गर्ने, दुई हजार प्रति रंगीन ब्रुसर प्रकाशन गर्ने र निकट भविष्यमै सम्मेलनको बारेमा जानकारी प्रदान गर्न पत्रकार सम्मेलन आयोजना गर्ने लगायतका ठोस निर्णय गरेको छ ।


बैठकमा कार्यकारी निर्देशक एवम् समितिका संयोजक डा. ज्ञवालीले सम्मेलनसँग विश्वविद्यालयको अन्तरराष्ट्रिय पहिचान र प्रतिष्ठा जोडिएकाले यसको प्रभावकारिताका लागि सबैले आ-आफ्नो दायित्वबोधका साथ जुट्नुपर्ने ऐतिहासिक कार्यभार आएको बताए।

बैठकमा सम्मेलन व्यवस्थापन समितिका सदस्य सचिव एवम् योजना विकास तथा अनुगमन निर्देशनालायका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, सदस्यहरु पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मीप्रसाद आचार्य, अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक डा. पुष्पराज आचार्य र विभागीय प्रमुख उपप्रा. खेमराज रावतको उपस्थिति रहेको थियो । यसैगरी बैठकमा सम्मेलनका लागि प्राविधिक सहयोग समितिका सदस्यहरु उपप्रा. पञ्चदेव भट्ट, शेरबहादुर केसी, सैलेन्द्र पाठक र अमृत शाहीको उपस्थिति रहेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार