
काेहलपुर । शिक्षण संस्थाले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै तक्षशीला एकेडेमी कोहलपुरले आफ्ना विद्यार्थीका अभिभावक तथा स्थानीय नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।
विद्यालय परिसरमै सम्पन्न शिविरले अभिभावक तथा समुदायको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी प्रदान गर्नुका साथै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको विद्यालयका अध्यक्ष विष्णु प्रसाद बेल्बासेले बताए ।
बेल्बासेका अनुसार अभिभावकहरू विद्यालय समुदायको अभिन्न हिस्सा भएकाले उनीहरूको स्वास्थ्य सुदृढ भए मात्र विद्यार्थीहरूको समग्र विकास सम्भव हुने धारणा व्यक्त गरे । यही सोचअनुसार विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजना गरिएको उनको भनाइ थियाे।
शिविरमा ८ सय अभिभावक र २ सय ५० जना अन्य स्थानीय नागरिकको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल भिमबहादुर रोकायाले बताए । केयर सिटी अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो। शिविरमा रक्तचाप मापन, मधुमेह परीक्षण, तौल तथा उचाइ जाँच, सामान्य शारीरिक परीक्षण तथा औषधि सेवनसम्बन्धी परामर्शलगायत सेवा निःशुल्क उपलब्ध गराइएको थियो।

विद्यालयका शैक्षिक सल्लाहकार डा. खोपिराम ओलीले विद्यालयले शिक्षणसँगै अभिभावक र समाजसँग जोडिने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार अभिभावकको स्वास्थ्य सुदृढ भए मात्र विद्यार्थीको सिकाइ र विकासमा सकारात्मक प्रभाव पार्ने बताए ।
स्वास्थ्य शिविरमा सहभागी अभिभावकहरूले व्यस्त दैनिकीका कारण नियमित स्वास्थ्य जाँच गराउन नपाएको अवस्थामा विद्यालयमै यस्तो सुविधा पाउँदा खुशी व्यक्त गरेका छन्। चिकित्सकहरूका अनुसार शिविरका क्रममा केही अभिभावकमा उच्च रक्तचाप र मधुमेहको प्रारम्भिक अवस्था देखिएको थियो, जसको समयमै पहिचानले भविष्यमा जटिल समस्या रोक्न मद्दत पुग्ने रोकायाले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्