
कोहलपुर । कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटन विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको कोहलपुर महोत्सव–२०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । वि.सं. २०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको महोत्सव सातौँ शृंखलाका रूपमा भोलि अर्थात् पौष ९ गते दिउँसो १ बजे औपचारिक रूपमा उद्घाटन हुनेछ ।
कोहलपुर न्यूरोडस्थित खुल्ला मैदानमा सञ्चालन हुने महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम तय भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले जनाएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक कोहलपुर उद्योग वाणिज्य संघले महोत्सवका सबै भौतिक, व्यवस्थापकीय तथा सुरक्षा तयारी अन्तिम चरणमा पुगेको स्पष्ट पारेको हो ।
आयोजक समितिका संयोजक भट्टराईका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको प्रवद्र्धन, रोजगारी सिर्जना तथा कोहलपुर नगरको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न निर्णायक योगदान पु¥याउने विश्वास लिइएको छ । उनले महोत्सव कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन विकासको साझा अभियानका रूपमा सञ्चालन गर्न लागिएको बताए ।
यस्तै महोत्सवमा कुल ३०० वटा स्टल राखिएको छ । जसमा २५० व्यावसायिक, २२ होटल, १५ प्रवद्र्धनात्मक, १० विषयगत प्रदर्शनी स्टल र १७ होटल÷रेष्टुरेन्टसहितको थारू गाउँ विशेष आकर्षणका रूपमा समावेश गरिएको छ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, कृषि तथा विज्ञान प्रदर्शनी तथा जलपरी ९ध्बतभच क्जयध० जस्ता विशेष कार्यक्रम सञ्चालन हुनेछन्।
महोत्सव अवलोकनका लागि सामान्य टिकट रु. १०० र सहुलियत रु. ८० निर्धारण गरिएको छ। शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
सञ्चारकर्मीहरूलाई प्रेस कार्डका आधारमा प्रवेश दिइनेछ । दर्शक सुरक्षाका लागि सीसी क्यामेरा निगरानी, प्रशिक्षित सुरक्षा गार्ड, स्वास्थ्य सहायता कक्ष, आगलागी नियन्त्रण उपकरण, ट्राफिक तथा पार्किङ व्यवस्थापनसहित सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ।
आयोजक समितिले महोत्सवलाई लक्षित गरी फैलाइएका भ्रम, अफवाह तथा भ्रामक प्रचारप्रति ध्यान नदिन आग्रह गरेको छ । महोत्सवलाई सम्पूर्ण नगरवासीको साझा पर्वका रूपमा सफल बनाउन सबैको सहयोग, समन्वय र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आयोजक मुल समितिका संयोजक भट्टराईले महोत्सवलाई आफ्नै उत्सवका रुपमा अपनत्व प्रदान गर्न सम्पूर्ण नगरवासीलाई आह्वान गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्