नेपाल र बेलायत दुई देशविचको सम्बन्ध समानता, सहयोग र सहकार्यमा आधारित छ: कर्णाली प्रदेश सरकारका मन्त्री शाह




कृष्ण कुमार शाही, सुर्खेत ।

नेपालको मानव विकास सूचकांकका आधारमा पछि परेको प्रदेश कर्णालीमा वेलायत सरकारको सहयोगमा आइडिया इन्टरनेसनलद्वारा सञ्चालित प्रदेश संलग्नता सुविधा (PEF) कार्यक्रम आज एक औपचारिक समारोहका वीच समापन भएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आयोजित समापन तथा सिकाइ आदानप्रदान कार्यक्रम कर्णाली प्रदेश सरकारका मन्त्री सहित उच्च पदस्थ अधिकारी, नेपालका लागि वेलायतका राजदूत, प्रदेश योजना आयोगका पदाधिकारी, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति, सरकारी तथा गैरसरकारी विकास साझेदार संस्थाका प्रमुख एवम् प्रतिनिधि, निजी क्षेत्र, नागरिक समाज लगायत सरोकारवाला पक्षको सहभागितामा सम्पन्न भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा योजना मन्त्री राजिवबिक्रम शाहले नेपाल वेलायत बीचको सम्बन्ध निकै पुरानो र सुमधुर रहेको बताउँदै नेपाली नागरिक वेलायती सेनामा भर्तीदेखि वेलायतकै संसदीय प्रणाली नेपालले अंगिकार गरेकाले दुई देशका बीचको सम्बन्ध समानता, सहयोग एवम् सहकार्यमा आधारित भएको बताए । उनले आगामी दिनमा कर्णाली विकासका लागि वेलायत सरकारसँग सहयोग तथा सहकार्यका नयाँ सम्भावनावारे छलफल गरिने जानकारी दिए । मन्त्री शाहले कर्णालीको शैक्षिक धरोहर मध्यपश्चिम विश्वविद्यालयको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको समेत जानकारी दिए । कार्यक्रमका विशिष्ट अतिथि माननीय सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यस क्षेत्रको समृद्धिका लागि कर्णाली प्रदेशमा भएका विभिन्न खानीहरुको संघीय सरकारसँग समन्वय गरी उत्खनन् गरिने वताए ।


कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले मध्यपश्चिम केन्द्रीय विश्वविद्यालय भएपनि कर्णाली प्रदेशमा अवस्थित भएकाले यस विश्वविद्यालयले सामाजिक उत्तरदायित्व पूरागर्दै कर्णाली क्षेत्रको समग्र विकास र समृद्धिमा केन्द्रित क्रियाकलाप तथा शैक्षिक कार्यक्रम संचालन गरेको वताए । उपकुलपति प्रा. डा. गौतमले कर्णालीको रैथाने ज्ञान, सीप, क्षमता विकासमा टेवा पुग्ने पाठ्यक्रम निर्माण तथा अधिकांश शैक्षिक कार्यक्रम कर्णालीमा रहेकाले प्रदेश सरकारले आफ्नो नीति, योजना, कार्यक्रम तथा बजेटमा समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेको विश्वविद्यालयलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरे । विभिन्न दातृ निकायहरुसँग विश्वविद्यालयले साझेदारी गरिरहेको स्मरण गर्दै उपकुलपति गौतमले वेलायती राजदूत डा. एन्ड्र्यू लङ मार्फत कर्णाली विकासमा गरेको योगदानका लागि वेलायत सरकारलाई धन्यवाद दिए


एउटा प्राज्ञका हिसाबले प्रा. डा. गौतमले यहाँको भूगोल, मनोविज्ञान, समस्या र सम्भावना केलाउन दातृ निकायको मुख नताकी हामी आफैले आफ्नो विकास मोडेल तयार पार्न सुझाउँदै कपीपेष्ट पुरानो विकास मोडल फेल भएको टिप्पणी गरे । वेलायती सरकारद्वारा सञ्चालित उक्त कार्यक्रमले कर्णाली प्रदेशमा गरेको योगदान एवम् प्राप्त सिकाइवारे कार्यक्रम सम्बद्ध रेनुका गुरुङ र प्रकाश झाले चर्चा गरेका थिए ।
छलफल सत्रमा सहभागीहरुले प्रदेशका नीति निर्माण, योजना कार्यान्वयन तथा समन्वय प्रणाली थप प्रभावकारी एवम् जनमैत्री बनाउन तथा अस्वभाविक रुपमा भैरहेको श्रमशील जनशक्ति पलायन रोक्ने ठोस योजना ल्याउन सुझाव दिएका थिए ।


सुर्खेत च्याम्बर अफ कमर्सका अध्यक्ष एवम् सिद्धदर्शन दैनिकका सम्पादक  चिन्तामणी शर्माले विकासका ठूला- ठूला सपना नदेखाई आधारभूत वर्गले भोगिरहेको समस्या देख्नुपर्ने र सोको समाधानमा गम्भीर बन्नुपर्ने वताए ।


यसैगरी नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराइले समृद्ध कर्णाली सुखारी कर्णाली बासीको नारालाई साकार पार्ने सरकार र दातृ निकायहरुको अभियानमा महासंघको सकारात्मक साथ रहने जानकारी दिए । कार्यक्रममा कर्णाली प्रदेश सरकार योजना आयोगद्वारा प्रकाशित दोस्रो पञ्चवर्षीय योजनाको सारांश पुस्तिका विमोचन गरिएको थियो । सो अवसरमा राजदूत डा. एन्ड्र्यू लङ सहित दातृ निकायका प्रतिनिधिहरुलाई ससम्मान प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकी, नौमुले गाउँपालिका अध्यक्ष छविराज सुवेदी, वेलायत दुतावासका सुशासन सल्लाहकार माधव श्रेष्ठ, कर्णाली प्रशिक्षण प्रतिष्ठानका सुरेन्द्र शाही लगायतले परियोजनाको योगदानबारे मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।


कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष सूर्यनाथ योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य योजना आयोगका माननीय सदस्य डम्बरबहादुर रावल, उद्देश्यमाथि प्रकाश आयोगका माननीय सदस्य अशोकनाथ योगी र कार्यक्रमको संचालन मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालायका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गरेको जानकारी मध्यपश्चिम विश्वविद्यालयका  प्रशासन अधिकृत शेर बहादुए केसिले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ पुस २ गते बुधबार