मध्यपश्चिम विश्वविद्यालय र नेपालका लागि फिनल्यान्ड राजदुतावासका प्रतिनिधि बिच भेटवार्ता




सुदाम शर्मा, सुर्खेत ।

विश्वविद्यालय र नेपालका लागि फिनल्याण्ड राजदुतावासका प्रतिनिधि मण्डल बीच विहीवार आपसी सहकार्यका लागि शिष्टाचार भेट तथा द्विपक्षीय छलफल सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयद्वारा आगामी २०८३ साल वैशाख ११-१३ तदनुरुप २४-२६, अप्रिल २०२६ का लागि तय गरिएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनका सन्दर्भमा गर्न सकिने सहयोग तथा आगामी दिनमा हुन सक्ने शैक्षिक सहकार्यमा केन्द्रित रही वीरेन्द्रनगर, सुर्खेत स्थित अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयमा छलफल सम्पन्न भएको हो ।


नेपालका लागि फिनल्यान्ड राजदुतावासका शिक्षा परामर्शदाता योहन्ना कुर्की, विशेष शिक्षा सल्लाहकार इन्द्रा गुरुङ, फिनल्यान्ड र युरोपेली संघको सहयोगमा नेपालमा सञ्चालित विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक सहयोग तथा सहकार्य टेक्सेस नेपाल परियोजना अन्तर्गत समावेशी शिक्षामा अन्तर्राष्ट्रिय विज्ञका रुपमा कार्यरत फिनल्याण्डकी नागरिक डा. माया मकिनेन, उक्त परियोजनाका कर्णाली प्रदेश संयोजक बखत भण्डारी सहितको प्रतिनिधि मण्डलसँग मध्यपश्चिम विश्वविद्यालय अन्तराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवाली, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का र विश्वविद्यालयका सूचना अधिकारी एवम् निर्देशनालयका प्रशासन प्रमुख शेरबहादुर केसी सम्मिलित टोलीले अन्तरराष्ट्रिय सम्मेलन लगायत आगामी दिनमा गर्न सकिने थप शैक्षिक सहकार्यका सम्बन्धमा छलफल गरेको हो । विश्वविद्यालयका तर्फबाट कार्यकारी निर्देशकद्वय डा. ज्ञवाली र डा. खड्काले विश्वविद्यालय र फिनल्यान्डका बीच हुन सक्ने सहकार्यका विविध आयाम बारे उक्त प्रतिनिधि टोलीसँग छलफल गरेका हुन । थ


फिनल्यान्ड दुतावासका शिक्षा परामर्शदाता योहन्ना कुर्कीले विश्वविद्यालयद्वारा गर्न लागिएको अन्तरराष्ट्रिय सम्मेलन वारे खुशी व्यक्त गर्दै काठमाडौंमा अन्तरराष्ट्रिय स्तरको नेटवर्कमा यस सम्बन्धी शेयर गर्ने र फिन्ल्यान्ड दुतावासको आधिकारिक फेसबुक पेज तथा वेवसाइट मार्फत सम्मेलनका लिंकहरु राखी प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । उनले भर्चुअल तथा भौतिक रुपमा समेत फिनल्यान्डबाट केही विज्ञहरु पठाइने वचनवद्धता प्रकट गरिन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर १८ गते बिहीबार