पार्दर्शिता र जवाफ्देहिता नै सुशासनका आधार स्तम्भ हुन : निर्देशक खड्का




सुदाम शर्मा, सुर्खेत

मध्यपश्चिम  विश्वविद्यालय पाँच वर्षे रणनीतिक योजना निर्माण समितिद्वारा गठित सुशासन, सहकार्य तथा अन्तरराष्ट्रिय सम्बन्ध विकास कार्यदलसँगको बैठक मंगलवार सम्पन्न भएको छ ।मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा.विष्णुकुमार खड्काको अध्यक्षतामा कार्यदलसँगको सातौं बैठकका रुपमा सुशासन, सहकार्य तथा अन्तरराष्ट्रिय सम्बन्ध विकास कार्यदलको बैठक वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक डा. खड्काले कमलराज लम्सालको संयोजकत्व्मा गठित सुशासन, सहकार्य तथा अन्तरराष्ट्रिय सम्बन्ध विकास कार्यदलले पारदर्शिता, जवाफदेहिता र शैक्षिक उत्कृष्टताको आधार सुशासनयुक्त विश्वविद्यालय निर्माणमा टेवा पुग्ने गरी सहकार्य एवम् अन्तर्राष्ट्रिय सम्बन्ध विकासलाई समेत जोडेर योजनाको खाका ल्याउने विश्वास व्यक्त गरे । डा. खड्काले समयको दवावका बीच प्राप्त जिम्मेवारीको गाम्भीर्यतालाई मध्यनजर गरी सरोकारवालाको अपेक्षा पूरा गर्ने सिपिरिटका साथ योजना निर्माणमा जुट्न सुझाव दिए ।


बैठकमा सहभागी कार्यदल संयोजक लम्साल सहित सदस्यहरुले सुशासन, सहकार्य र अन्तरराष्ट्रिय सम्बन्ध विश्वविद्यालयको अक्सिजन भएको भन्दै सोको समुचित व्यवस्था आवश्यक रहेकोमा जोड दिएको बैठकमा सहभागी विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए ।बैठकमा संयोजक लम्सालले संस्थाको सुशासन, सहकार्य र अन्तरराष्ट्रिय सम्बन्ध विकास जस्ता त्रिआयामिक विषयमा केन्द्रित रही ठोस योजना निर्माणमा सघाउ पुर्‍याउने बताए ।


कार्यदलका सदस्यहरु भुपेन्द्रबहादुर शाही, खुशल बुढाथोकी, त्रिभुवन वि. सी., रचना विष्ट र देविचन्द्र पाण्डेय भौतिक रुपमा तथा संयोजक लम्साल सहित बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बाँकेका उपप्रा. तोयानाथ पहाडी, केन्द्रीय विभागबाट विणाराम भण्डारी र निर्मलकुमार थापा भर्चुअल माध्यमबाट सहभागी भएका थिए । उक्त बैठकको सहजीकरण निर्देशनालयका प्रशासन प्रमुख शेरबहादुर केसीले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर १७ गते बुधबार