विश्वविद्यालयको समग्र अवस्था अध्ययन र विश्लेषण गरेर मात्र वस्तुगत योजना तयार गर्नुपर्ने हुन्छ: डा खड्का




कृष्ण कुमार शाही सुर्खेत ।

मध्यपश्चिम  विश्वविद्यालय पाँच वर्षे रणनीतिक योजना निर्माण समितिद्वारा गठित अवस्था अध्ययन तथा विश्लेषण कार्यदलसँगको बैठक सोमवार सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा.विष्णुकुमार खड्काको अध्यक्षतामा अवस्था अध्ययन तथा विश्लेषण कार्यदलको बैठक वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो ।

बैठकलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक डा. खड्काले कर्णाली प्रदेश योजना आयोगका सदस्य समेत रहेका ऋषि खनालको संयोजकत्व्मा गठित अवस्था अध्ययन तथा विश्लेषण कार्यदलले विश्वविद्यालयको समग्र अवस्था अध्ययन गरी शैक्षिक कार्यक्रम, अनुसन्धान तथा नवप्रवर्तन, पूर्वाधार, सुशासन, मानवस्रोत, वित्त आदिको स्थिति विश्लेषण गरेर वस्तुसँगत मस्यौदा तयार पार्ने विश्वास व्यक्त गरे । उनले सन् २०२६ देखि २०३० सम्म रणनीतिक योजना कार्यान्वयन गर्ने चरण भएकाले समयको चापलाई दृष्टिगत गरी यथाशक्य चाँडो योजनाको खाका ल्याउने गरी काम गर्न सुझाए ।


बैठकमा सहभागी कार्यदल संयोजक खनाल सहित सदस्यहरुले कार्यदलमा राखेर धरातलको आवाज विश्वविद्यालयको योजनामा प्रतिविम्वित हुने अवसर प्रदान गरेकोमा उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम नेतृत्वको विश्वविद्यालय योजना परिषद्लाई धन्यवाद व्यक्त गरे ।
बैठकमा कार्यदलका सदस्यहरु भिउसिं बुढा, शारदा पौडेल, भानुभक्त अधिकारी, खुमबहादुर खड्का र जगतराज ढकाल भौतिक रुपमा तथा बबई बहुमुखी क्याम्पस गुलरिया, बर्दियाका उप-प्रा. वामदेव ज्ञवाली भर्चुअल माध्यमबाट सहभागी भै आफ्नो धारणा राखेको निर्देशनालयका प्रशासन प्रमुख एवम् विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले कोहलपुर टुडे लाई जानकारी दिए । कार्यदल बैठकको छैटौं शृङ्खलाको रुपमा आयोजित उक्त अवस्था अध्ययन तथा विश्लेषण कार्यदल बैठकको सहजीकरण निर्देशनालयका प्रशासन प्रमुख केसीले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार