नेपालको उच्च शिक्षामा विद्य्मान चुनौती सम्बन्धि बहस




नेपालको उच्च शिक्षामा विद्यमान चुनौतीहरुबारे प्राज्ञिक बहस भएको छ । शिक्षाविद र प्राज्ञिक व्यक्तित्वहरुबिच नेपालको उच्च शिक्षामा विद्यमान चुनौतीहरु सम्बन्धी छलफल गर्ने उदेश्यका साथ् कैलाली बहुमुखी क्याम्पसद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा. डा. हेमराज पन्तज्यू, त्रिभुवन विश्वविद्यालयका पुर्व उपकूलपति प्रा. डा. तिर्थ खनियाज्यू र मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलज्यू लगायत सुदूरपश्चिम विश्वविद्यालयका विभिन संकायका डीन र प्राध्यापक तथा अनुसन्धानकर्ता र प्राज्ञिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाकर कँडेलज्यूले नेपालको शैक्षणिक विधिमा प्रमुख समस्या रहेको बताएका थिए। आजको परिवेशमा हाम्रा विद्यार्थीहरुले कक्षाकोठामा समय सापेक्ष ज्ञान, सिप, क्षमता र योग्यता प्राप्त गर्ने अभ्यासका बारेमा आफ्नो धारण राखेका थिए । उनले  तालिम र प्रशिक्षणहरुको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै शैक्षणिक विधिको माध्यमबाट पुर्ण सिकाईको वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरे ।

विद्यार्थी, प्राध्यापक, प्रशासन र हरेक क्षेत्रमा सकारात्मक भावनाको विकास गर्नु चुनौतीको विषय रहेको उल्लेख गर्दै रजिष्ट्रार प्रा. डा. कँडेलज्यूले ज्ञानको हिसाबले अगाडी भएपनि सिप, क्षमता र योग्यता विकास गर्न कक्षाकोठाहरु कार्यशालाको ढाँचामा निमार्ण गर्न जोड दिए ।

त्यस्तै मध्यपश्चिम विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु प्रसाद ज्ञवालीज्यूले विश्वविद्यालयहरुमा अन्तर्राष्ट्रिय स्तरको भर्ना निति नहुँदा नेपाल बाहिरका विद्यार्थीहरुलाई आकर्षित गर्न चुनौती रहेको बताएका थिए । त्यस्तै उहाँले विश्वविद्यालयको अन्तर्राष्ट्रियकरणका लागि देश वाहिरका विश्वविद्यालयहरुसंग समन्वयको आवश्यकता रहेको बताए भने अनुसन्धान सँस्कृतिको विकासका लागि अनिवार्य नियम र मान्यता स्थापित गर्न आवश्यक रहेको बताए ।

कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह-प्रा. डा. लोक बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न उक्त प्राज्ञिक बहसमा क्याम्पसका प्राध्यापक, विद्यार्थी र विभिन्न प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो। कार्यक्रमको अवसरमा कैलाली बहुमुखी क्याम्पसबाट आवधिक रुपमा प्रकाशन हुने अनुसन्धानमूलक “केएमसी जर्नल” को सातौँ संस्करणको दोस्रो श्रृङ्खलाको समेत बिमोचन गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर १२ गते शुक्रबार