उमेरले कान्छी सञ्जु तर चुनावी मैदानमा बलियो उम्मेदवार

निर्मल आचार्य

जिल्ला स्तरको काँग्रेस वृत्तमा जिल्ला अधिवेशनको चर्चा जति छ त्यति नै चर्चा सञ्जु कुमारी चौधरीको पनि चुलिएको छ । संस्थापन पक्षले सभापति पछिको महत्वपूर्ण मानिएको जिल्ला सचिव पदमा कोहलपुर नगरपालिका उप–प्रमुख समेत रहेकी सञ्जुलाई चुनावी मैदानमा खडा गरेपछि राजनीतिमा नयाँ अनुहार पनि स्थापित हुने ढोको खुलेको भन्दै युवापंक्तिले खुशी व्यक्त गरिरहेका छन् ।

राजनीतिक परिवारमा हुर्केपनि सञ्जुको राजनीतिक यात्राले गती लिएको धेरै कम समयमा हो । स्थानीय त्रिभुवन माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण हुँदासम्म सक्रिय राजनीतिमा उनको कुनै चासो थिएन । मेधावी छात्राको रुपमा विद्यालयका शिक्षकशिक्षिकाहरुले उनलाई बुझेका थिए । पढाईमा अब्बल रहेकी उनी विद्यालयस्तरसम्म शान्त र अध्ययनशील स्वभाव रहेको उनका सहपाठीहरु बताउँछन् । प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीहरु जिल्ला बाहिर अध्ययन गर्न जाने गरेकोमा उनले एसएलसी पछिको उच्च शिक्षा अध्ययनका लागि कोहलपुरमै स्थापित शैक्षिक संस्था रोजेकी थिइन् । त्यसपछि कोहलपुरको एक निजी विद्यालयमा शिक्षिका बनेर केही समय अध्यापन गराएपश्चात आप्mनो परिवारको स्वामित्वमा रहेको संस्थागत विद्यालयको प्रअ रहेर शैक्षिक गतिविधीमा आपूmलाई समाहित गरेकी थिइन् ।

उनका बुवा पञ्चायतकालमा रझेना गाविस प्रधान भइसकेकाले साविक रझेना गाविसमा उनका बुवा प्रभावशाली नेताको रुपमा स्थापित थिए । घरमा प्राय राजनीतिक व्यक्तित्वहरुको उपस्थिती बाक्लो नै रहन्थ्यो । बाल्यकालदेखि अन्तरमुखी स्वभाव रहेपनि राजनीतिमा उनको चासो विस्तारै बढ्दै गयो र पाठ्यक्रम बाहेक राजनीतिसँग सम्बन्धित पुस्तकहरु अध्ययन गर्दै जाँदा कुन अवस्थामा राजनीतिक चेतनाको विकास भयो उनी आफै अनभिज्ञ छिन् । व्यवस्थापन संकायमा स्नाकोत्तर सम्मको अध्ययन पुरा गरेकी सञ्जु कानून संकाय अन्र्तगत एलएलबी तेस्रो वर्षमा अध्ययनरत छिन् ।

२०७४ सालमा उनको क्षमता र राजनीतिक चेतनाबारे जानकार स्थानीय काँग्रेस नेतृत्वले स्थानीय तहको निर्वाचनमा उनलाई उप–प्रमुखको रुपमा प्रस्ताव अगाडी बढाएपछि सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएपछि अन्ततः सञ्जुलाई उप–प्रमुखको प्रत्याशीका रुपमा अगाडी बढाइयो । लोकप्रिय मत सहित उनी उपप्रमुखमा निर्वाचित भएपछि राजनीतिमा नयाँ अनुभव लिने अवसरका रुपमा आफ्नो कार्यसम्पादन सहित नगर उपप्रमुखको जिम्मेवारी वहन गर्न सफल भइन् । २०७५ सालमा नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा चयन भएकी सञ्जु २०७७ सालमा नेपाल तरुण विभाग लुम्बिनी प्रदेश सदस्यको जिम्मेवारी पाएकीछन् ।

कोहलपुर नगरपालिकाको उप–प्रमुखको जिम्मेवारी पाएपछि उनले न्यायिक समितिमा गरेको कार्यसम्पादनलाई सफल र प्रभावकारी कदमका रुपमा हेरिएको छ । उपभोक्ता हित संरक्षण अन्र्तगत बजार अनुगमन उनको नेतृत्वमा निरन्तर रुपमा अगाडी बढाउँदा कोहलपुर क्षेत्रमा विशेष गरी खुल्ला रुपमा पशुपंक्षीको बद्य गरेर अव्यवस्थित रुपमा विक्री वितरण भइरहेको मासु खरिद विक्री धेरै व्यवस्थित बन्न सफल भएको छ । बजार अनुगमनमा कोहलपुर नगरपालिका बाँकेका अन्य स्थानीय तहभन्दा प्रभावकारी पनि देखिएको विभिन्न प्रतिवेदनहरुमा उल्लेख भएको पाइएको छ । राजनीतिले पुनः सञ्जुलाई सक्रिय बनाइराख्न खोजेको चर्चा यतिबेला हुन थालेको छ ।

काँग्रेसको जिल्ला नेतृत्वमा आकांक्षीमध्ये सञ्जु सम्भवतः सबैभन्दा कान्छो उम्मेदवार रहेकाले पनि उनको उमेद्वारीपछि जिल्ला सचिव पदमा बलियो उमेद्वारका रुपमा हेरिएको छ । यसअघि पार्टीको अधिबेशन अन्र्तगत सम्पन्न अधिवेनमार्फत सजिलै क्षेत्रीय प्रतिनिधी र लोकप्रिय मतसहित केन्द्रिय महाधिवेशवन प्रतिनिधीमा बिजयी भएकी सञ्जुले जिल्ला पदाधिकारीमा पनि बिजयी भएर ईतिहास रच्नेमा उनका शुभचिन्तक तथा पार्टीका नेता कार्यकर्ता विश्वस्त देखिएका छन् ।