कृष्ण कुमार शाही, सुर्खेत ।
नेपालका लागि फिनल्याण्डका राजदुत पेट्री पुहक्का सहितको टोलीले शुक्रवार वीरेन्द्रनगर, सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयको स्थलगत भ्रमणसँगै विश्वविद्यालय परिवारसँग छलफल गरेको छ । भेटका अवसरमा राजदूत पेट्रीले विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम सहित सरोकारवाला पक्षसँग छलफल गरेको हो ।

राजदूत पेट्रीले आफ्नो आगमन पश्चात् नेपाल स्थित विश्वविद्यालयहरु मध्ये पहिलोपटक मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गरेको र यसबाट आगामी दिनमा एकापसमा गर्न सकिने थप सहकार्यका सन्दर्भमा आफू निकै उत्साहित भएको बताए । कार्यक्रमको अध्यक्षता गरेका उपकुलपति प्रा. डा. गौतमले नेपाल र फिनल्याण्ड बीचको सम्बन्ध मित्रतापूर्ण एवम् विकास सहयोगमा आधारित भएको बताउँदै महामहिम राजदूतको भ्रमणले आगामी दिनमा सहयोगको एउटा महत्वपूर्ण क्षेत्र शिक्षाको विकासमा कर्णालीमा अवस्थित यस विश्वविद्यालय मार्फत थप सहकार्यको ढोका खोल्ने विश्वास व्यक्त गरे ।

दुई मुलुकबीच कूटनीतिक सम्बन्ध सन् १९७४ मा स्थापना भएयता फिनल्यान्ड नेपालका लागि विश्वासिलो विकास साझेदारका रूपमा परिचित भएकाले पनि विश्वविद्यालयले राजदूत पेट्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा लिएको छ ।
दुवै देशको राष्ट्रियगान प्रस्तुतिसँगै रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको संक्षिप्त झलक प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गरेका हुन ।

। कार्यक्रममा विभिन्न संकायका डीन, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन सहप्रमुख, कार्यक्रम निर्देशक, विभागीय प्रमुख, कर्मचारी, स्ववियु लगायतको उपस्थिति रहेको कार्यक्रममा उपकुलपति गौतमले राजदुत पेट्री, फिनल्याण्ड राजदुतावासका सहकार्य विभाग प्रमुख सारा अलानेन र उहाँको टीमलाई विश्वविद्यालय प्रवेशका सन्दर्भमा स्वागत तथा छलफल पश्चात् धन्यवाद सहित मायाको चिनो प्रदान गरिएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्