ए डिभिजन लिगमा आज ३ खेल, सातदोबाटोलाई हराए मछिन्द्र च्याम्पियन बन्ने

शहीद स्मारक ए डिभिजन लिगमा आज ११औं चरणका तीन खेल हुँदैछन् । त्यसमा पनि ए डिभिजनको साविक विजेता मछिन्द्र एफसी र नवप्रवेशी सातदोबाटो युथ क्लब बीचको खेल सबैको नजर छ ।

मछिन्द्र यस खेल जित्दै दुई खेल अगावै च्याम्पियन बन्ने दाउमा छ । उता पहिलो सिजनमै थ्रीस्टार मनाङ मर्स्याङ्दी र नेपाल पुलिसलाई हराएर जायन्ट किलर बनेको सातदोबाटो अर्को नतिजाको पर्खाइमा हुनेछ ।

१० खेलसम्म अपराजित मछिन्द्र ८ जित र २ बराबरीबाट २६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको मनाङको समान खेलबाट २० अंक छ र हेड टु हेडमा मछिन्द्र नै अघि छ । त्यसैले बुधबार १ बजे दशरथ रंगशालमा हुने खेलमा ३ अंक हासिल गरे मछिन्द्र दुई खेल अगावै च्याम्पियन बन्नेछ ।

बराबरी वा हारको नतिजाले भने मछिन्द्रले बाँकी खेल कुर्नुपर्नेछ । उता डेब्यु सिजनमै उत्कृष्ट प्रदर्शन गरिरहेको सातदोबाटो १५ अंकसहित छैटौं स्थानमा छ । मछिन्द्रलाई पराजित गर्न सके सातदोबाटो शीर्ष चारमा उक्लनेछ ।

आजै १ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तेस्रो स्थानको त्रिभुवन आर्मी एफसीले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । मछिन्द्रसँगै अपराजित अर्को टोली आर्मी १० खेलबाट १८ अंकसहित तेस्रो स्थानमा छ ।

हिमालयन शेर्पा १० खेलबाट १२ अंकसहित नवौं स्थानमा छ ।

यस्तै दशरथ रंगशालमा ४:४५ बजे सुरु हुने खेलमा थ्रीस्टार र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । थ्रीस्टार १० खेलबाट १७ अंकसहित चौथो स्थानमा छ भने १० खेलबाट १० अंक मात्र रहेको पुलिस १०औं स्थानमा छ ।

अनलाइनखबरबाट