टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी एक महिलाको मृत्यु

देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी एक महिलाको मृत्यु भएको छ ।

आज विहान सवा ६ बजेको समयमा पुर्वबाट पश्चिम आउँदै गरेको रा १ क १२८६ नम्बरको टिप्परले ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षिय डिला पौडेलको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

साइकलमा दूध बेच्न भालुवाङ हिडेकी महिलालाई उक्त टिप्टरले ठक्कर दिएको हो । घटना पछि मृतकका आफन्त तथा स्थानीयले बन्द गरेको बाटो प्रहरीले खुलाए पनि फेरि आक्रोसित स्थानीयले बाटो बन्द गरेका छन् ।

दोषीलाई कडा भन्दा कडा कारवाहीको माग र क्षतिपूर्तिको माग गर्दै बाटो बन्द गरिएको छ । बाटो बन्द भएपछि गन्तव्यमा जान लागेका सवै गाडी रोकिएका छन् । घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।