लता मङ्गेशकर: प्रसिद्ध भारतीय गायिकाको ९२ वर्षको उमेरमा निधन




प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। यसै वर्षको ज्यानुअरी महिनामा कोभिड-१९ बाट सङ्क्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

अवस्थामा सुधार नभएपछि उनी हप्तौँदेखि सघन उपचार कक्षमा थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले “देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको” बताएका छन्। मोदीले मङ्गेशकरका “गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गर्ने” बताउँदै उनले “दशकौँसम्म भारतीय चलचित्र जगत्लाई नजिकबाट नियालेकी” बताएका छन्।

आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उनले ३६ भाषामा ३०,००० भन्दा बढी गीत गाएकी थिइन्। उनलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा गरेको कामले गर्‍यो।

उनको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो। पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उनले सङ्गीत सिक्न थालेकी थिइन्। दिनानाथ त्यस बेला थिएटर कलाकार थिए।

BBC बाट साभार

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतबार