विश्वभर कोरोना निको हुनेको सङ्ख्या ३० करोड नाघ्यो

फाइल तस्बिर

विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ३० करोड नाघेको छ। पछिल्लो २४ घण्टामा २६ लाख ७० हजार सङ्क्रमित निको भएका छन्। एक दिनमा करिब २७ लाखले कोरोना जितेसँगै यो सङ्ख्या ३० करोड १५ लाख ३७ हजार ७ सय ९२ पुगेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ।

यस्तै २७ लाख ४८ हजार नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३८ करोड १६ लाखभन्दा धेरै भएको छ। जसमध्ये ५७ लाख २ हजारभन्दा धेरैको भने मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १० हजार ५ सय ४८ जना सङ्क्रमितको मृत्यु भएको छ। अझै पनि विश्वभर ७ करोड ४४ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा ९२ हजारको अवस्था जटिल रहेको छ। बाँकीको अवस्था सामान्य रहेको छ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ७ करोड ६४ लाखमा कोरोना सङ्क्रमण पुष्टि हुँदा ४ करोड ६६ लाख निको भएका छन्। ९ लाख १२ हजारको भने कोरोनाले मृत्यु भएको छ।

त्यहाँ २४ घण्टामा मात्रै २ लाखभन्दा धेरै सङ्क्रमित थपिँदा ३ लाख ८ हजार निको भएका छन्। २ हजार ३ सयको भने मृत्यु भएको छ। अझै पनि २ करोड ८ लाख सक्रिय सङ्क्रमित रहेको अमेरिकामा २२ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

के छ नेपालको अवस्था ?

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५८३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै ६ हजार ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोरोना पोजेटिभ देखिएको छ। मन्त्रालयका अनुसार मंगलबार ९ जनाको ज्यान गएको छ। ८ हजार २६७ जना डिस्चार्ज भएका छन्।