कप्तानीमा पनि ‘टाइगर’ दीपेन्द्र

काठमाडौं ।

नेपाली क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी वर्तमान समयमा एसोसिएट क्रिकेटका एक उत्कृष्ट अलराउन्डर हुन् । दीपेन्द्र त्यस्ता क्रिकेटर हुन् जसले बल र ब्याटमात्रै होइन फिल्डिङबाट पनि टोलीलाई जिताउन सक्ने सामर्थ राख्छन् ।

अब कप्तानमा पनि दीपेन्द्रले राज गर्न थालेका छन् । २४ वर्षीय दीपेन्द्रले समान दुई राष्ट्रिय क्रिकेट प्रतियोगिता र फ्रेन्चाइज क्रिकेट ट्रफी गरी चार उपाधि आफ्नो नेतृत्वमा हात पारेका छन् । शनिबार नेपाल पुलिस क्लबले दीपेन्द्रको कप्तानीमा छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि जित्यो ।

पुलिसले फाइनलमा आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । पुलिसले लिगमा ९ खेल नै जित्दै शीर्ष स्थानमा रहेर फाइनल खेलेको थियो ।

गत वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामार्फत दीपेन्द्रले पुलिसको नेतृत्व सम्हालेका थिए । पुलिसबाट कप्तानी डेब्यूमै दीपेन्द्रले फाइनलमा आर्मीलाई ८ विकेटले हराउँदै स्वर्ण दिलाएका थिए । राष्ट्रिय प्रतियोगितामा पुलिसले क्रिकेटतर्फ जितेको पहिलो स्वर्ण थियो यो ।

गत वर्ष उनकै कप्तानीमा नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले उपाधि जित्यो । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग २०१९ को फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै सिवाईसी अत्तरियाले उपाधि जितेको थियो जुन दीपेन्द्रले राष्ट्रियस्तरमा आफ्नो कप्तानीमा जितेको पहिलो ट्रफी थियो ।

‘मेरो कप्तानीको प्लान खासै केही भन्दिनँ । खेलाडीहरु आफूले हेरेको र खेलेको नै हुन्छन् । तिनीहरु केमा कमजोर छन् त्यसमा आइडिया लगाएर बलरलाई भन्ने र फिल्ड त्यहीअनुसार सेट गरेर कप्तानी गर्दछु’, दीपेन्द्रले आफ्नो भूमिकाबारे भने ।

उनले त्यसमा थपे, ‘सबै खेलाडीहरुलाई मैले के गर्न खोजेको छु थाहा हुन्छ । टिम मिटिङमा कसरी आउट गर्ने र रन रोक्ने जस्ता कुरा हुन्छ । कप्तानमा मलाई त्यस्तो खासै दबाब लाग्दैन । किनभने त्यो बेला खेलको अवस्थाअनुसार गरिन्छ । म मैदानभित्र हुँदा मात्रै कप्तान हो । बाहिर आएपछि केही हुँदैन । एउटा टोलीको रुपमा जित्ने हो’, उनले भने ।

यस पटकको प्रधानमन्त्री कपमा दुई विभागीय टोली एपीएफ र आर्मी प्रदेश टोलीसँग पराजित भए । एपीएफ कर्णालीसँग २१ रन र मधेशसँग ५ विकेटले पराजित भएको थियो । आर्मी बागमती प्रदेशसँग ३ विकेटले हारेको थियो । पुलिस कुनै पनि खेल नहारेर च्याम्पियन बन्यो ।

दीपेन्द्र टिम भावनाले सफल भएको बताउँछन् । ‘एउटा टिमको रुपमा एकदमै राम्रो गर्यौं । टिम भावना भयो । प्रशिक्षक, खेलाडी र म्यानेजर सबैले एक अर्कालाई विश्वास गरेका थिए । यो प्रतियोगिताभर कसैले क्याच छाड्दा वा खराब खेल्दा केही पनि भनेनौं । गल्तीहरु टिम बैठकमा आएर यस्तो गर्न सकिन्थ्यो भनेर भन्यौं’, उनले भने ।

दीपेन्द्रको कप्तानीको नेपाल पुलिस क्लबका प्रशिक्षक तथा नेपालका पूर्वक्रिकेटर मञ्जित श्रेष्ठले पनि तारिफ गर्दछन् । ‘दीपेन्द्रले कप्तानीमा एकदमै राम्रो गरेको छ । उसले हरेक कुरामा प्रशिक्षकलाई सोधेर अगाडि बढेको छ । कप्तानीमा हरेक कुरामा फोकस गर्दछ । उसमा राम्रो कप्तानको गुण छ’, मञ्जितले भने ।

भारतलाई हराउन कप्तानी प्रदर्शन र उपकप्तानको जिम्मेवारी

सन् २०१७ को यू-१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले हराएको थियो । नेपालले आफ्नो कुनै पनि क्रिकेट इतिहासमा भारतलाई हराएको यो नै एकमात्रै खेल हो । उक्त खेलमा दीपेन्द्रले ८८ रन बनाउनुको साथै ४ विकेट लिंदै नेपालको इतिहास रचाएका थिए । दीपेन्द्रले उत्कृष्ट कप्तानी गरेपछि १८६ रनको विजयी लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमा अलआउट भएको थियो ।

दीपेन्द्रको खेल कौशलको तारिफ गर्दै उनका साथीहरुले ‘टाइगर’ (बाघ) उपनाम राखिदिएका छन् । खेल मैदान उनले ‘टाइगर’ले जस्तै विपक्षीलाई सफल आक्रमण गर्दै आएका छन् ।

२०१९ मा पारस खड्काले कप्तानी छाडेपछि उपकप्तान ज्ञानेन्द्र मल्लले सिनियर टोली सम्हाल्लेका थिए । ज्ञानेन्द्र कप्तान बनेपछि दीपेन्द्रले नेपाली क्रिकेटको उपकप्तानको जिम्मेवारी पाएका थिए । २०२१ सम्म दीपेन्द्र उपकप्तानमा रहेका थिए ।

तर क्यानको ग्रेडलाई लिएर आलोचना गरेको भन्दै क्यानले दीपेन्द्रलाई उपकप्तानबाट नै हटाएको थियो । उपकप्तानबाट हटेपछि दीपेन्द्रले झन् उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।